गर्मी बढेपछि आँबुखैरेनी गाउँपालिकाका विद्यालय दुई दिनका लागि बिदा

जेष्ठ २९, २०८२

सम्झना रसाइली

Ambukhaireni village school holiday for two days after summer

तनहुँ — अत्यधिक गर्मी बढेपछि आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयलाई दुई दिनका लागि बिदा दिएको छ । केही दिनदेखि बढेको गर्मीका कारण जनजीवन प्रभावित भइरहेको र बालबालिकाको पठनपाठन तथा स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने देखिएकाले बिदा दिइएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई जेठ २९ र ३० गते बिदा दिइएको उनले बताए । साथै बिदाको अवधिमा आफ्ना बालबालिकालाई दिउँसो घाममा हिँडडुल गर्न नदिन, नदी पोखरीमा पौडी खेल्न, माछा मार्ने कार्यमा संलग्न हुन नदिन आवश्यक सावधानी अपनाउन अभिभावकलाई गाउँपालिकाले अनुरोध गरेको छ ।

आँबुखैरेनी गाउँपालिकाका ६ वटा वडामा २४ वटा सामुदायिक र ८ वटा संस्थागत गरी ३२ विद्यालय रहेका छन् । ती विद्यालयमा करिब ७ हजार १ सय ६७ जना विद्यार्थी अध्ययनरत छन् ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully