नवलपरासी — अत्यधिक गर्मी बढेका कारण मध्यबिन्दु नगरपालिकाले अनिश्चितकालसम्म विद्यालय बन्द गर्न उर्दी जारी गरेको छ ।
मेयर भीमलाल अधिकारीका अनुसार नगरपालिका भित्रका विद्यालयहरु बिहीबारदेखि वर्षात नहुन्जेलसम्मका लागि बिदा दिइएको छ । 'बिदा अनिश्चितकालसम्म रहने छ,' उनले भने, 'पानी परेर शितलो हुनासाथ विद्यालय सञ्चालन हुने छन् । गर्मी रहुन्जेल बिदा दिन सक्ने छन् ।'
'ढलान कक्षाकोठा र पंखाको समेत पर्याप्त सुविधा हुने विद्यालयले पढाउन पनि सक्ने छन्,' उनले भने । न्यूनतम सुविधा दिन नसकेका विद्यालयले वर्षात नहुन्जेल बिदा दिन उर्दी गरेको उनले जानकारी दिए । बुधबार एक सूचना जारी गरेर गर्मी रहुन्जेलसम्मका लागि बिहीबारदेखि विद्यालय बिदा दिइएको उनले जानकारी दिए ।
बुधबार दिउँसो पौने १ बजे पूर्वी नवलपरासीको तापक्रम ३८ डिग्री सेल्सियस पुगेको छ ।
