गोरखा — गत फागुन ८ गते गण्डकी गाउँपालिका–२ निवासी ७१ वर्षीय गिरराज पन्त गोरखा सदरमुकामको हरमटारीबाट बस चढी लक्ष्मीबजारतर्फ जाँदै गर्दा एक लाख रुपैयाँ चोरी भयो । झोलाभित्र रहेको नगद रकम चोरी भएपछि उनले प्रहरीमा निवेदन दिए ।
त्यस्तै गत जेठ ७ गते गोरखा नगरपालिका–६ हरमटारीका ८२ वर्षीय गंगाबहादुर श्रेष्ठ पेन्सन बुझि घर फर्कंदै थिए । गोरखा–९ लक्ष्मीबजारबाट पेन्सन बुझि घर फर्कंदै गरेका श्रेष्ठको बसमा यात्राको क्रममा नगद दुई लाख रुपैयाँ चोरी भयो । नगद चोरी हुँदासम्म उनले भेउ पाउन सकेनन् । बसबाट झरेपछि बल्ल नगद रकम चोरी भएको उनले थाह पाए । श्रेष्ठ र पन्तमात्र होइनन्, जेठ ११ गते पेन्सन बुझेर फर्कंदै गरेका शहिद लखन गाउँपालिका–५ का चोकबहादुर थापा मगरको पनि बसमै ५० हजार नगद चोरी भयो ।
श्रृंखलाबद्ध रुपमा चोरीका घटना भइरहेको बेला प्रहरीले तीन गिरोहलाई पक्राउ गरेको छ । शहिद लखन–४ घर भई हाल चितवन रत्ननगर नगरपालिका–११ सितलटोल बस्ने ४९ वर्षीय दिपक परियार, ३५ वर्षीय आशिक भुजेल र शहिद लखन गाउँपालिका–४ घर भई चितवन भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने ४३ वर्षीय दाननारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले संगठित रुपमा योजना बनाइ नगद चोरी गर्ने गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।
विभिन्न प्रविधिको अध्ययन तथा विश्लेषण गरी चोरी गर्ने कार्यमा संलग्न भएकालाई पक्राउ गरिएको उनले बताए । उनीहरुको साथबाट केही नगद पनि बरामद गरिएको छ । उनीहरुविरुद्ध जिल्ला अदालत गोरखामा चोरीसम्बन्धी कसुर मुद्दामा म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
