गोरखा — शहिद लखन गाउँपालिका–८ बुंकोटका कृष्णप्रसाद अंगाईलाई कुटपिट गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कृतिका निर्माण सेवाका व्यवसायीसमेत रहेका अंगाईलाई जेठ २३ गते गण्डकी गाउँपालिका–२ खमारे खोला सडक खण्डमा बाटो छेकी हेल्मेट, ढुंगा लगायतबाट कुटपिट गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
गण्डकी–४ ढावेका २९ वर्षीय रोशन थापा क्षेत्री भन्ने सुजल थापा, १९ वर्षीय पुष्पप्रसाद देवकोटा र गण्डकी–३ आमडाँडाका २४ वर्षीय दयाराम पन्तलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी इन्द्रप्रसाद सुवेदीले बताए ।
आरोपितविरुद्ध मंगलबार गोरखा जिल्ला अदालतमा ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता गरी म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको पनि उनले बताए ।
गण्डकी र शहीद लखन गाउँपालिकाको सिमानामा पर्ने बतासे–फुजेल–आमडाँडा–पौवा सडक खण्ड स्तरोन्नति कार्य स्थलबाट घर फर्कने क्रममा शुक्रबार उनलाई स्थानीय युवाहरुले निर्घात कुटपिट गरेका थिए ।
