राइड सेयरिङ नियमावली एक महिनापछि कार्यान्वयन प्रक्रियामा जान्छ : मुख्यमन्त्री पाण्डे

जेष्ठ २६, २०८२

हरिराम उप्रेती

Ride sharing rules will go into implementation process after one month: Chief Minister Pandey

गोरखा — गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले 'राइड सेयरिङ' सम्बन्धी नियमावली एक महिनापछि कार्यन्वयनको प्रक्रियामा जाने बताएका छन् ।

सोमबार गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा आएका पाण्डेले पत्रकारसँगको कुराकानीमा यातायात व्यवसायीको कुरा सुन्न र वार्ताका लागि एक महिनाको समय लिएको बताए । 

‘राइड सेयरिङ नियमावली बनाइसकेका छौं, त्यसलाई लागू गर्ने क्रममा यातायात व्यवसायीले केही आफ्नो सरोकार देखाउनुभएको छ, उहाँहरुले हडताल पनि गर्नुभयो,’ उनले भने, ‘अझै केही कुरा छ भने नियमावलीको सन्दर्भमा कुरा सुन्ने, वार्ता गर्ने समय एक महिना लिएका हौं ।’ एक महिनाको अवधिमा यातायात व्यवसायीलाई वार्तामा ल्याउने उनको भनाइ छ । ‘नियमावलीभित्र सरोकार केही छ र सम्बोधन गर्न सक्ने प्रदेश सरकारको अवस्था छ भने त्यसलाई पनि सम्बोधन गर्छौं, होइन भने राइड सेयरिङ नियमावली एक महिनापछि कार्यान्वयनको प्रक्रिया सुरु हुन्छ,’ उनले भने । 

त्यस्तै, प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पाण्डेले गण्डकी प्रदेशभित्र अन्तर्राष्ट्रिय स्तरको खेल मैदान निर्माणको प्रयत्न पनि भइरहेको बताए । प्रदेशभित्र हुने खेलले खेल पर्यटन प्रवर्द्धन गर्न सघाउ पुग्ने उनको भनाइ थियो । अन्य पेसाबिना नै खेल क्षेत्रलाई जीविकोपार्जनको माध्यम बनाउन पनि पनि सकिने उनले बताए । ‘जो खेल प्रति लगाव राख्नुहुन्छ, यसलाई करिअर बनाउने प्रयत्न पनि गर्नुस्,’ उनले भने ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully