लमजुङ — लमजुङमा अपांगता भएका नागरिक र तिनका परिवारको लगत संकलन गरिने भएको छ । नेपाल नेत्रहीन संघले लमजुङ नेत्रहीन संघसंगको समन्वयमा जिल्लाभरका अपांगता भएका नागरिकको गणना गर्ने र उनीहरुको अवस्थाबारे तथ्यांक लिन लागेको हो ।
अपांगता नागरिकको गणनाका लागि लमजुङका ७५ वटै वडामा ७५ जना गणक नियुक्त गरिएको छ । उनीहरुका लागि बेंसीसहरमा आइतबारदेखि ३ दिने तालिम सुरु गरिएको लमजुङ नेत्रहीन संघका अध्यक्ष राजेन्द्र घिमिरेले बताए । उनका अनुसार ३ दिनसम्म तालिम लिएपछि गणकहरु वडा–वडामा जाने र २ महिनाभित्र तथ्यांक लिइसक्नेछन् ।
समावेशी विकासका लागि कार्य परियोजना लमजुङ पुनर्स्थापना फिल्ड अधिकृत प्रेम महर्जनका अनुसार वडा कार्यालयसँगको समन्वयमा अपांगता नागरिकको गणना गरिन लागेको हो । उनका अनुसार गणकहरुले ‘कोबो टुल’ नामक एप्लिकेशन प्रयोग गरेर अपांगता नागरिक र तिनका परिवारको तथ्यांक लिनेछन् । ‘तालिममा हामी गणकलाई अपांगता, अपांगताका प्रकार, कोबो टुल, यसमा तथ्यांक भर्ने तरिकाबारे सिकाउँछौं । गणकले दिनभर टुलमार्फत तथ्यांक संकलन गर्नेछन् । बेलुकी केही समय इन्टरनेट चलाएर भेरीफाइ गरी पोष्ट गर्नेछन्,’ उनले भने ।
कोबो टुल सञ्चालनविज्ञ महेश्वर घिमिरे, अपांगताबारे विष्णु पोख्रेल र आँखा सम्बन्धमा नेत्रसहायक श्रीप्रसाद ढकाललगायतले तालिम दिनेछन् । कोबो टुलमा तयार पारिएका ६० हाराहारीको प्रश्नहरुमा छलफल र यसलाई भर्ने तरिकाबारे गणकहरुलाई जानकारी गराइने लमजुङ नेत्रहीन संघले जनाएको छ ।
सामाजिक विकास कार्यालय प्रमुख मिताकुमारी थापाले अपांगता नागरिकका लागि कार्यालयले सचेतनामुलक कार्यक्रम सञ्चालन, अभिमुखीकरण, सहायता वितरणलगायत कार्य गर्दै आएको बताए ।
