चितुवाको आक्रमणबाट ६ वर्षीय बालकको मृत्यु

जेष्ठ २६, २०८२

सम्झना रसाइली

A 6-year-old boy died after being attacked by a leopard

तनहुँ — जिल्लाको बन्दीपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणमा परी ६ वर्षीय बालकको मृत्यु भएको छ ।

सोमबार साँझ करिब ७ः३० बजेको समयमा आफ्नै घरको आँगनमा बसिरहेको बेला चितुवाले आक्रमण गर्दा दल बहादुर गुरुङका ६ वर्षीय छोरा उत्सवको मृत्यु भएको जिल्ला प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी गराए ।

चितुवाको आक्रमणमा परी गम्भीर घाइते भएका बालकको तत्काल उपचारका लागि बन्दिपुर अस्पताल लगिएकोमा चिकित्सकले उनको मृत्यु भएको घोषण गरेका थिए ।

तनहुँमा चितुवाको निसानमा बालबालिका पर्दै आएका छन् । जिल्लाको भानु, व्यास, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर, आँवुखैरेनी गाउँपालिकामा चितुवा आतङ्क देखिएको छ । चितुवाको आक्रमणबाट तनहुँमा करिब ६ वर्षको अवधिमा १४ जना बालबालिकाको ज्यान गएको छ ।

सम्झना रसाइली रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully