गोरखा — सडक सुशासन तथा दुर्घटना न्यूनीकरणको उद्देश्यसहित गोरखामा ट्राफिक सप्ताह सुरु भएको छ। पहिलो दिन आइतबार प्रभातफेरी तथा लामो दुरीका यात्रुवाहक बसहरूमा स्टिकर टाँस तथा विद्यार्थीलाई हेलमेट लगाएर ट्राफिक सप्ताहको शुभारम्भ गरिएको थियो ।
सप्ताहमा ट्राफिक जनचेतनामूलक पर्चा पम्प्लेट वितरण गर्ने, चोक–चोकमा स्वयंसेवक परिचालन गरी सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, गल्ती गर्ने चालकलाई सम्झाई बुझाइ गर्ने लगायतका कार्यक्रम हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख राजेन्द्र पौडेलले बताए।
अव्यवस्थित पार्किङ हटाउने, धुँवा धुलोबाट बच्न मास्क वितरण गर्ने स्टिकर टाँस गर्ने, जेव्राक्रसस नभएको स्थानमा बाटो काट्न सिकाउने, ग्रामीण सडक लक्षित प्रशिक्षण लगायतका कार्यक्रम ट्राफिक सप्ताहमा तय गरिएको छ । जिल्लाको चुमनुव्री बाहेकका सबै नगरपालिका तथा गाउापालिकाहरुमा सडक सञ्जाल पुगेका छन् ।
हिमाली गाउँपालिका धार्चे जोड्ने सडक कच्ची रहेको, अन्य पालिकामा अधिकांश निर्माणाधीन सडकमा जनशक्ति र स्रोत साधनको अभावका बाबजुद पनि ट्राफिक व्यवस्थापन सुधारको प्रयास गरिएको पौडेलले बताए । जिल्लामा मापदण्ड अनुसारको सडक नहुनु र सडकको मापदण्ड कार्यान्वयन नहुनु पार्किङ व्यवस्थापनको लागि चुनौतीपूर्ण रहेको उनको भनाई छ ।
जिल्ला भित्र दुई सय ९० किलोमिटर कच्ची सडक, १९८ किलोमिटर ग्राभेल, र १६४ किलोमिटर पक्की सडक गरी ६५२ किलोमिटर सडक रहेको पनि उनले बताए । उक्त सडकमा सरदर दैनिक १० हजार दुई सय वटा सवारी साधानहरु गुड्ने र एक जना ट्राफिक प्रहरीले ५३७ वटा सवारी साधन हेर्नुपर्ने अवस्था रहेको पनि उनले बताए ।
