७ महिनाअघि नै काम सक्ने ठेकेदार कम्पनी र आयोजनालाई सम्मान

कालीगण्डकी करिडोरअन्तर्गत ‘हर्मीचौर–बलेवा’ खण्डको ४५ किमि सडकमा तोकिएको समयअघि नै कालोपत्र

जेष्ठ २४, २०८२

प्रकाश बराल

Respect to contractor companies and projects that can work 7 months before

बागलुङ — भौतिक संरचना निर्माणमा लामो समय लागेको र पटकपटक म्याद थप्दा पनि काम नसकिएको समाचार आइरहन्छन् । तर कालीगण्डकी करिडोरको एक खण्डमा भने तोकिएभन्दा ७ महिनाअघि नै काम सम्पन्न भएको छ । यति मात्रै होइन समय अगाडि नै कालोपत्र गरिएको भन्दै ठेकदार कम्पनी र आयोजनालाई सम्मानसमेत गरिएको छ ।

आगामी पुसभित्र कालोपत्रको जिम्मा लिएको ठेकदार कम्पनी कम्पनी कालिका कन्स्ट्रक्सनले जेठ दोस्रो सातामै काम सकेकाले आयोजनाका कर्मचारी, प्राविधिकलाई शनिबार सम्मान गरिएको हो । गुल्मीको कालीगण्डकी गाउँपालिका, बागलुङ नगरपालिका र जैमिनी नगरपालिकामा पर्ने कालीगण्डकी करिडोरको ‘हर्मीचौर–बलेवा’ खण्डको ४५ किमि सडकमा समयअघि नै कालोपत्र भएको हो । 

शनिबार बागलुङको जैमिनीधाममा आयोजित कार्यक्रममा बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाको तर्फबाट करिडोर आयोजना कार्यालयकी आयोजना प्रमुख कल्पना अधिकारी र व्यवस्थापक महेश सुवेदीसहित कर्मचारी र प्राविधिकलाई सम्मान गरिएको हो ।

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र जैमिनीका उपप्रमुख हरिहर शर्माले ठेकेदार कम्पनी सबैले काम अलपत्र पारेका छैनन् भन्ने सन्देश बागलुङबाट दिएकाले सम्मान गरेको बताए । 'राम्रो गर्नेलाई सम्मान र सकारात्मक सन्देश दिन सकेमा अलपत्र परेका अन्य आयोजना पूरा गर्न प्रेरणा मिल्छ,' श्रेष्ठले भने । समय अगावै काम सक्दा ठेकदारको ६ महिना बचेको र जनताको लाखौंको व्यवसाय बढेको उनले बताए । गौरवका आयोजा समयमा सक्ने वातावरण सबैले बनाउनुपर्नेमा उनले जोड दिए ।

आयोजना प्रमुख अधिकारीले काम सम्पन्न भएको कम्पनी र स्रोत अभावमा काम रोकेका ठेकदारलाई भुक्तानी दिन नपाएको भन्दै राज्यले स्रोत सुनिश्चित गर्नुपर्ने बताइन् । यो अभियान सफल पार्न स्थानीय जनप्रतिनिधिले पनि ठूलो योगदान पुर्‍याएको उनको भनाइ थियो ।

Respect to contractor companies and projects that can work 7 months before

२०७९ मंसिर २६ गते सम्झौता गरेर २०८२ मंसिर २५ मा सक्ने सम्झौता थियो । यो खण्डबाहेक हर्मीचौरदेखि रिडीसम्मको सडक अघिल्लो वर्ष नै कालोपत्र भइसकेको छ । बागलुङको बलेवादेखि मालढुंगासम्मको खण्ड भने अझै सकिएको छैन । 

कालिका कन्स्ट्रक्सनले ३ अर्ब ३३ करोडको ठेक्का सम्झौतामा यो खण्ड कालोपत्र गराएको हो । यो खण्डको करोडौं रुपैयाँ भुक्तानी लिन बाँकी भए पनि लगातार काम गरेर सम्पन्न गरेको व्यवस्थापक सुवेदीले बताए । ‘स्रोत आएन भनेर बसेको भए अर्को वर्ष पनि सकिने थिएन,’ उनले भने, ‘राज्यबाट पाउने सेवा ढिला भए पनि काम सम्पन्न गर्ने लक्ष्यमा सफल भयौं ।’

कार्यक्रम सफल भएको भन्दै जैमिनीधामस्थित सडकमै सम्मान कार्यक्रम आयोजना गरिएको हो । सम्मानका लागि जैमिनीका पूर्व नगरप्रमुख इन्द्रराज पौडेलसहित जैमिनी र बागलुङ नगरपालिकाका वडाध्यक्षसमेत सहभागी थिए ।

यो सडक बनेपछि जैमिनीको कुश्मीसेरादेखि बुटवलका लागि दैनिक बस सेवा सञ्चालन भइसकेको छ । सडक कालोपत्र भएपछि १०–१२ घण्टा लाग्ने सडक अहिले ५ घण्टामा छोटिएको स्थानीयले बताए ।

प्रकाश

Link copied successfully