एकल महिलालाई आयआर्जनमा जोड्दै म्याग्दे, अनुदानमा बाख्रा वितरण

जेष्ठ २४, २०८२

सम्झना रसाइली

Connecting single women to income generation, distribution of subsidized goats

तनहुँ — जिल्लाको म्याग्दे गाउँपालिकाले एकल महिलालाई अनुदानमा बाख्रा वितरण गरेको छ । गाउँपालिकाभित्रका एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित ७५ प्रतिशत अनुदानमा बाख्रा वितरण गरिएको हो । 

गाउँपालिकाभित्रका ७ वटा वडाका २८ महिलालाई बाख्रा वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । ‘गाउँपालिकाभित्र करिब ४५२ जना एकल महिला छन्,’ उनले भने, ‘प्रत्येक वडाबाट ४/४ जना एकल महिला छनोट गरी प्रत्येकलाई एक/एक वटाका दरले बाख्रा वितरण गरिएको हो ।’

बाख्रा खरिदका लागि गाउँपालिकाले प्रत्येकलाई १२ हजार रुपैयाँ सहयोग गरेको उनले बताए । एकल महिलालाई बाख्रा वितरण गर्ने कार्यक्रमका लागि गाउँपालिकाले करिब ३ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ ।

एकल महिलालाई आर्थिक रूपमा सशक्त बनाउनका लागि बाख्रा वितरण कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनले भने, ‘एकल महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यसहित बाख्रापालनतर्फ प्रोत्साहन गरेका हौँ । यसले उहाँहरूलाई आम्दानी र जीविकोपार्जनमा सहयोग पुग्नेछ ।’

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully