निर्माण व्यवसायी अंगाईमाथि निर्घात कुटपिट

जेष्ठ २४, २०८२

हरिराम उप्रेती

Angai, a construction worker, was brutally beaten

गोरखा — निर्माण व्यवसायी कृष्ण अंगाईलाई कुटपिट भएको छ । गण्डकी र शहीद लखन गाउँपालिकाको सिमानामा पर्ने बतासे–फुजेल–आमडाँडा–पौवा सडक खण्ड स्तरोन्नति कार्य निर्माण स्थलबाट घर फर्कने क्रममा शुक्रबार उनलाई स्थानीय युवाहरुले कुटपिट गरेका हुन् । 

निर्माणस्थलबाट फर्कने क्रममा खमारे खोलामा युवाहरुले अंगाई चढेको मोटरसाइकल रोकेर हेल्मेट, लाठी र धारिलो ढुंगा प्रयोग गरी कुटपिट गरेको निर्माण व्यवसायी संघले शनिबार विज्ञप्ति जारी गरी जनाएको छ । ‘केही उच्छृंल युवाहरुले मोटरसाइकल रोकेर निर्घात कुटपिट गर्दा टाउकोमा गहिरो चोट लागेको छ,’ विज्ञप्तिमा भनिएको छ,‘यो घटनाले निर्माण व्यवसायीहरुलाई स्वतस्फूर्त कार्य गर्न असहज हुने भएकाले घटनाका दोषीलाई यथाशीघ्र कारबाहीको दायरामा ल्याउन माग गर्छौं ।’ 

निर्माण व्यवसायीलाई भयरहित वातावरणमा कार्य संचालन गर्ने व्यवस्था मिलाउन पनि माग गरिएको छ । घाइते अंगाईको गोरखा अस्पतालमा उपचारपश्चात् काठमाडौं रेफर गरिएको छ । अंगाई कृतिका निर्माण सेवाका प्रोपाइटर हुन् ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully