नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको सबैभन्दा लामो दुम्किबासको विनयी खोलामा पक्की पुल ढलान भएको छ ।
निर्माणाधीन महेन्द्रराजमार्गको दुम्किबासमा पर्ने २ सय ४५ मिटर लामो विनयी खालामा शुक्रबार साँझ पक्की पुल ढलान गरिएको हो । राजमार्ग बिस्तारका क्रममा निर्माण गरिएको नयाँ पक्की पुलबाट आउँदो असार १४ गतेबाट यातायात सञ्चालन हुने सडक विभागले जानकारी दिएको छ ।
बुटवल नारायणगढ सडक खण्डका प्रवक्ता शिव खनालका अनुसार ढलान भएको २८ दिनपछि पुलमा यातायात सञ्चालन गर्न मिल्छ । पुल ढलान गरेको २८ दिनपछि मात्र पुलले भारबहन क्षमता अनुसारको काम गर्ने भएकाले असार १४ गतेबाट त्यही नयाँ पुल हुँदै गाडी ओहोरदोहोर गर्न मिल्ने भएको खनालले जानकारी दिए ।
अरुणखोला पुल, बेल्डिहा खोला पुल र चोरमाराको गिरबारी खोला पुलमा जीर्ण फलामे पुलबाट हाल यातायात सञ्चालन भइरहेको छ ।
अरुणखोला, चोरमारा र बेल्डिहा पुलमा ४० टनभन्दा बढी तौल बोकेका गाडी सञ्चालन गर्न निषेध गरिए पनि वैकल्पिक सडक नहुँदा ती सबै पुलबाट नै यातायात सञ्चालन हुँदै आएको छ । ५२ वर्षअघि निर्माण भएका सबै फलामे पुल जीर्ण र धरापयुक्त छन् ।
