नौलीखोलाको मोटरेबल पुल निर्माण अलपत्र

उत्तरी गोरखा पुग्ने लार्के सडकखण्ड अन्तर्गतको निर्माणाधीन मोटरेबल पुल थपिएको म्याद असारसम्म पनि सम्पन्न नहुने भएको छ

जेष्ठ २३, २०८२

हरिराम उप्रेती

Naulikhola motorable bridge construction stalled

गोरखा — लार्के सडकखण्ड अन्तर्गत धार्चे गाउँपालिका–७ लापुबेँसीस्थित नौलीखोलामा निर्माणाधीन मोटरेबल पुलको काम अलपत्र परेको छ ।

गत साउनमा निर्माण सक्ने गरी ठेक्का लागेको पुलको हालसम्म ५५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । उत्तरी क्षेत्र पुग्ने सडकमा निर्माणाधीन पुल अलपत्र पर्दा बर्खाका बेला नौलीखोला आउजाउमा जोखिम बढेको स्थानीयको भनाइ छ ।

२०७९ साउनमा सूर्योदय कन्स्ट्रक्सन प्रालिसँग २०८१ साउनभित्रै पुल सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि आगामी असारसम्म म्याद थप भएको छ । तर थपिएको म्यादमा पनि काम सम्पन्न नहुने पूर्वाधार कार्यालयका इन्जिनियर मोहन श्रेष्ठले बताए । ‘प्रि स्ट्रेस मोडलबाट ढलान गर्ने स्टिमेट छ, यो प्रविधिको ढलान गर्न टेका डेढ महिना राख्नुपर्ने हुन्छ, बर्खा नजिकिएपछि जोखिम हुने भयो, यो वर्ष बाँकी काम हुन सकेन,’ उनले भने ।

पुलको दुवैतर्फ पिल्लर उठाउने काम भने सकिएको छ । ‘डाइभर्सन गर्न ह्युम पाइप पनि राखिएको छ, अब बर्खा लाग्न लाग्यो, बाँकी काम नहुने भएपछि पहिलेकै ठाउँमा पानी बग्न मिल्ने बनाउँछौ,’ उनले भने, ‘ठूलो पानी आउँदा सवारी चल्दैन ।’ बेनिघाट–आरुघाट–लार्के सडकखण्ड अन्तर्गतको नौलीखोलमा मोटरेबल पुल निर्माण सम्पन्न नहुँदा उत्तरी क्षेत्रका बासिन्दालाई बर्खामा आउजाउ ठप्प बन्ने गरेको छ ।

‘बर्खाको बेला नौलीखोला बढेर काम गर्न नसकिने स्थिति बन्यो, हिउँदमा मात्र काम गर्नुपर्ने बाध्यता छ, गाडी हिँड्ने वैकल्पिक बाटो पनि छैन,' श्रेष्ठले भने, 'ठेकदारबाट पनि ढिलाइ हुँदा समस्या भयो ।’

चार करोड ३५ लाखको लागतमा नौलीखोलामा प्रि स्ट्रेस प्रविधिको पुल निर्माण गर्न लागिएको हो । ३५ मिटर लम्बाइ र ८.४० सेन्टिमिटर चौडाइको पुल बन्नेछ । अब बर्खालगत्तै काम सुरु हुने पूर्वाधार कार्यालयका इन्जिनियर श्रेष्ठले बताए । ‘अब ३/४ महिनाको काम छ, बर्खा सकिएलगत्तै काम सुरु गर्न ठेकदारलाई ताकेता गर्छौं,’ उनले भने ।

नौलीखोला पुलले पूर्णता पाए धार्चे गाउँपालिकाको केन्द्र माछाखोला तथा चुमनुव्री गाउँपालिकाका स्थानीयवासीलाई आउजाउमा सहज पर्नेछ । लार्के सडकको ट्रयाक खुलेसँगै हाल चुमनुव्री गाउँपालिका–३ को पाङसिङसम्म जिप, ट्याक्टर, ट्रक लगायतका सवारी चल्न थालेका छन् । पाङसिङसम्म सवारी चल्दा स्थानीयको आउजाउको दुरी छोट्टिएको छ भने दैनिक उपभोग्य सामग्री ढुवानीमा पनि सहज बनेको छ । पाङसिङसम्म सवारी चलेपछि उपभोग्य सामग्रीको ढुवानी भाडा पनि केही सस्तिएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully