दुम्कीवासको डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग ठप्प

जेष्ठ २३, २०८२

नारायण शर्मा

Diversion of Dumkiwas washed away, East-West highway blocked

नवलपरासी पूर्व — दुम्कीवासस्थित विनयी खोलाको डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग ठप्प भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख यादव ढकालका अनुसार शुक्रबार दिउँसो परेको वर्षापछि आएको बाढीले डाइभर्सन सडक बगाएको हो।

पाँच महिनाअघि अत्यधिक तौलको मालवाहक ट्रक हिँड्दा विनयी खोलाको फलामे पुल भाँच्चिएको थियो। त्यसपछि पुल रहेको राजमार्गदेखि केही उत्तरतर्फबाट डाइभर्सन सडक निर्माण गरेर यातायात सञ्चालन हुँदै आएको थियो। अघिल्लो साता बगाएको डाइभर्सन फेरि निर्माण गरेर सञ्चालन गरिएको थियो । तर, ६ दिनमै पुनः डाइभर्सन बगाएको हो।

दुम्कीवासदेखि केही पूर्वमा रहेको होङ्सी सिमेन्ट जाने बाटो हुँदै साना तथा यात्रुवाहक गाडी पठाउने व्यवस्था मिलाइने प्रहरीले जानकारी दिएको छ। ‘अब प्रहरी खटाएर होङ्सी गेट, सर्दी हुँदै दाउन्नेदेवी आयल स्टोर्सको बाटो साना गाडी पठाउने व्यवस्था मिलाउँदै छौँ, त्यहाँ काम सुरु भइसकेको छ,’ प्रहरी प्रमुख ढकालले भने, ‘ठूला गाडी त्यहीँ रोकेर खोलामै पानी घटेपछि डाइभर्सन निर्माण गरेर ओहोरदोहोर गराइने छ।’

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully