काठमाडौँ — बैंकिङ कसुर र चेक अनादर मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट फैसला भई फरार रहेका ८ जना प्रतिवादी पक्राउ परेका छन्। अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाई न्यायिक कारबाहीलाई पूर्णता दिन, सुरक्षित र न्यायपूर्ण समाज निर्माण अभियान चलाएको स्याङ्जा प्रहरीले सोही अभियानको क्रममा बिहीबार उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रशन्नराज चौधरीका अनुसार पक्राउ परेका प्रतिवादीलाई जिल्ला अदालतमा बुझाइएको छ। उनीहरूबाट एक करोड ६१ लाख ८ हजार चार सय ४२ रुपैयाँ राजश्व संकलन हुने प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमध्ये भिमबहादुर विश्वकर्मालाई २३ दिन र बत्ती विकलाई १ दिनको कैद सजायसमेत तोकिएको छ । भिमलाई बैकिङ कसुरमा ८० लाख रुपैयाँ जरिवाना तोकिएको छ भने बत्तीलाई एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो । यसैगरी, बैकिङ कसुरमा नै कमला केसीलाई ७९ लाख ८८ हजार, शिवलाल लम्साललाई १६ हजार ७५० जरिवाना तोकिएको थियो ।
प्रहरीले दिएको तथ्यांक अनुसार चेक अनादर मुद्दामा झवनाथ भण्डारीलाई २ हजार, अमराज गुरुङलाई एक हजार, गंगामाया गुरुङसेनीलाई ५८२ र कुटपिट मुद्दामा ढालबहादुर सुनारलाई एकसय १० रुपैयाँ जरिवाना तोकिएको थियो ।
