चोरमारा पुलमा साँझदेखि यातायात सञ्चालनको तयारी, जोखिम कायमै  

जेष्ठ २१, २०८२

नारायण शर्मा

Preparation for traffic operation on Chormara bridge from evening, danger remains

नवलपरासी — बढी तौल बोकेका मालवहाक गाडी गुडेका कारण भासिएको पूर्वी नवलपरासीस्थित चोरमारा पुल मर्मत गरेर आज साँझबाट यातायात सञ्चालनको तयारी गरिएको छ ।

पुल निर्माण कम्पनी जलप नेपालका सञ्चालक तारा पौडेलका अनुसार निर्माणको काम सकिएका कारण आज साँझसम्म त्यहाँबाट यातायात सञ्चालन गरिने छ । पुल महाशाखाका प्रमुख ललिजन खनालले चोरमारा पुल निर्माणको काम सकिएपछि पुल महाशाखाका प्राविधिक र इन्जिनियरहरूले आज जाँच गरेका छन् । सम्भवतः आज साँझबाट त्यहाँ गाडी गुडाइने खनालले बताए  ।

२ सय १६ मिटर लामो फलामे पुल ५२ वर्षअघि निर्माण गरिएको थियो । वैशाख पहिलो साता बढी तौल मालवाहक गाडी गुडेका कारण पुल भासिएको हो ।

महेन्द्ररामार्ग निर्माण गर्दाका बखत ५२ वर्षअघि निर्माण गरिएको फलामे पुल जीर्ण अवस्थामा छ । पुल मर्मत गरिएपनि फेरि धेरै तौल भएका गाडी गुडाउँदा अर्को ठाउँबाट भाँच्चिने जोखिम पनि उत्तिकै छ । 'पुल अब फिट एन्ड फाइन छ भन्ने होइन जोखिम उत्तिकै छ । बढी तौल भएका गाडी त्यहाँ हिँडाउन हुँदैन,' ठेकेदार कम्पनीका प्रमुख तारा पौडेलले भने, 'जहाँबाट पुल भाँच्चिएको थियो त्यो स्थानलाई सोझो बनाइएको हो । पूरै पुलमा नयाँ सामान (फलाम) फेरेको होइन ।'  

Preparation for traffic operation on Chormara bridge from evening, danger remains

पुल महाशाखाका प्रमुख ललिजन खनालले त्यहाँको पुलमा धेरै तौल भएका गाडी नहिँडाउन प्रहरीले काम गर्नुपर्ने बताउँछन् । पुल महाशाखाका प्राविधिक र इन्जिनियरहरूले मंगलबार नै त्यहाँ पुगेर पुलको अनुगमन र निरीक्षण गरेका छन् । 'उनीहरूको प्रतिवेदनका आधारमा आज साँझसम्म त्यहाँबाट गाडी चल्न दिने भन्ने छ,' खनालले भने, 'अब धेरै तौल भएका गाडी हिँडाउन हुँदैन । त्यसको नियन्त्रणको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयको हो ।'

फेरि पुल भाँच्चियो भने त्यसको जिम्मेवारी पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारीको रहने उनले बताए । 'यातायात सञ्चालन कानुनमै हरेक सडकको जिम्मेवारी त्यहाँका जिल्ला प्रशासन कार्यालयले हेर्ने भन्ने प्रस्ट लेखिएको छ,' खनालले भने, 'निर्माणाधीन महेन्द्रराजमार्गका नयाँ पक्की पुल नबनुन्जेल पुराना जीर्ण पुलबाट गाडी हिँडाउन पर्ने बाध्यता छ ।'

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully