काठमाडौँ — अन्नपूर्ण हिमाल आरोहण भएको ७५औं वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ पुगेका छन् । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस हर्जोगले पहिलोपटक ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेका थिए ।
आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेकाले अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । अन्नपूर्ण हिमाल आरोहणको तीन वर्षपछि मात्रै सगरमाथाको सफल आरोहण भएको थियो । अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुर पुनले पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा अन्नपूर्ण आरोहण दिवस मनाउन लागिएको बताए ।
हीरक महोत्सवमा प्रधानमन्त्रीले अन्नपूर्ण आधार शिविरमा पदमार्ग, खुल्ला सङ्ग्रहालय उद्घाटन र आरोहीहरुको सालिक अनावरण गर्ने कार्यक्रम छ । जेठ १७ गतेदेखि मनाउन सुरु गरिएको अन्नपूर्ण आरोहण महोत्सव जेठ २२ गते पोखरामा समापन गर्ने कार्यक्रम छ ।
