कास्की — सार्वजनिक सवारी नचलेपछि र रातको समयमा सेवाग्राहीसँग बढी भाडा असुल्ने राइड सेयरिङ चालक कारबाहीमा परेका छन् ।
यात्रुको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राति ८ बजे राइडरको जाँच गरेको थियो । त्यस क्रममा बढी भाडा माग्ने ८ वटा मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकारी डिएसपी हरिबहादुर बस्नेतले बताए । कारबाहीमा परेकाहरू राइड सेयरिङ कम्पनी ‘इन्ड्राइभ’ मा दर्ता रहेका चालक हुन् ।
उनीहरूलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही गरेर छोडिएको उनले बताए । उक्त ऐनको दफा १६४ ले विभिन्न कसुर गर्नेलाई प्रहरीले ५ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गरेको छ ।
गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमन र व्यवस्थापन गर्ने नियमावली ल्याएपछि सार्वजनिक यातायात व्यवसायी आन्दोलित छन् । सार्वजनिक यातायात नचलेपछि राइड सेयरिङको माग बढेको छ । तर, राइड सेयरिङ चालकले एपमा देखाइनेभन्दा बढी भाडा असुल्न थालेका छन् ।
