बागलुङमा ‘सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रम’ मार्फत असार मसान्तभित्र सक्ने लक्ष्य राखेको सडक वैशाख मसान्तमै कालोपत्र
बागलुङ — ठेकेदारले सडक अलपत्र पारेर यात्रुले हैरानी खेपेको, काम गरेको भुक्तानी नभएको, म्याद थपेर पनि काम नभएको जस्ता दर्जनौं घटना छन् । तर यहाँको एक योजनामा भने ठेकदारले काम थालेको १० महिनामै सडक कालोपत्र सम्पन्न गरेका छन् ।
बागलुङ नगरपालिकाले ‘सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रम’ मार्फत आगामी असार मसान्तभित्र सक्ने लक्ष्यको सडक वैशाख मसान्तमै कालोपत्र भएको हो । वडा नं ७ को मुलपानीदेखि तितौरेसम्मको साढे ८ किमि, ओडारचौरदेखि ढोडेनीसम्म साढे २ किमि र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमि गरी साढे १२ किमि सडक कालोपत्र भएको हो । यो सडक चालु आर्थिक वर्षदेखि निर्माण सुरु भएको थियो ।
विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाले ४८ करोडमा सडक निर्माण गरेको नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बताए । सडक बन्दा बागलुङ आएका पर्यटक बेनी जाने र मुस्ताङ पुगेका पर्यटकलाई बेनी हुँदै बागलुङ बजार ल्याउन ७ किमि छोटो बाटो भएको छ । ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरकारीलाई बजारीकरणमा पनि सहयोग मिलेको छ ।
यो योजनाले बागलुङ नगरपालिका वडा नं ४ को ओडारचौरदेखि ढोडेनी हुँदै पर्वतको लस्ती पुग्न सहज भएको छ । यो सडकले पर्यटकलाई छोटो बाटोमा म्याग्दी र मुस्ताङ जान सहयोग पुग्नेछ । साथै किसानका उत्पादन बजार पठाउन पनि सहज हुनेछ ।
डेढ घण्टा घुमेर बागलुङमा तरकारी पठाउने ढोडेनीका किसान सडक कालोपत्र भएपछि खुसी भएका छन् । ‘हिजो सास्ती थियो, अब सहज भयो,’ स्थानीय जीवानन्द सापकोटाले भने, ‘ग्रामीण बस्तीमा पनि पक्की सडक आउने रहेछ ।’
बिरामीलाई समयमा अस्पताल लैजान पनि सहयोग भएको उनले बताए । यसअघि सिधै बजार आउने बाटो नभएपछि पर्वतको लस्ती, खनियाघाट र मालढुंगा हुँदै यात्रा गर्न स्थानीय बाध्य थिए । उपचारदेखि नगरपालिकाको प्रशासनिक काममा पनि उनीहरुले सास्ती खेप्थे । जंगलको बाटो भएकाले एक्लाएक्लै पैदल हिँड्न पनि सक्थेनन् । तरकारी फलाएर पनि बजारमा ल्याउन निकै गाह्रो थियो ।
पर्वतको लस्तीका टेकबहादुर क्षेत्रीलेले दैनिक दूध ढुवानी गर्न पनि यो सडक सहज भएको बताए । उनी हरेक दिन मोटरसाइकलमा क्यान भिरेर दूध बेच्न बागलुङ बजार आइपुग्छन् । मालढुंगा हुँदै बागलुङ बजार आउँदा झन्डै १५ किमि यात्रा गर्नु पर्नेमा यो सडकले आधा छोटो बनाएको छ ।
यो सडक तोकेकै समयमा सक्न खोज्दा धेरै अवरोध आएको निर्माण कम्पनी फेवा आशिष संयुक्त निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले बताए । ‘कहिले त निर्माण सामग्री ढुवानीमा प्रहरीकै अवरोध समेत भयो,’ शर्माले भने, ‘तोकेको समयमा काम सकेर हस्तान्तरण गर्ने तयारीमा छौं ।’
बागलुङका अधिकांश नागरिकको मृत्युपछिको दाहसंस्कार गर्ने क्रममा निरयघाट र ढोडेनी घाट पुग्न पनि यो सडक सहज भएको छ । निरयघाट सडक स्तरीय बन्दा यहाँको वृद्धाश्रम, निर्माणाधीन मानवसेवा आश्रममा सामग्री ढुवानीमा सजिलो भएको छ ।
विश्व बैंकले नेपालभर १७ वटा नगरपालिकामा सहरी शासकीय सुधार तथा पूर्वाधार विकास कार्यक्रममा सहयोग गरेकामा बागलुङले समयमै सकेको हो । यो सफलताले आगामी वर्ष अन्य योजनामा पनि सहयोग माग्न सजिलो भएको श्रेष्ठले बताए ।
