चार दिनपछि दुम्किबासमा दुईतर्फी यातायात सञ्चालन

प्रधानमन्त्री र यातायात मन्त्रीको निर्देशन टेर्दैन चिनियाँ ठेकेदार 

जेष्ठ १८, २०८२

नारायण शर्मा

Two-way traffic operation in Dumkibas after four days

नवलपरासी — चार दिनअघि दुम्किबासको विनयी खोलको डाइभर्सन सडक बगाएपछि एकतर्फी सञ्चालन भइरहेको यातायात आइतबार बिहानदेखि दुईतर्फी नै आउजाउ सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुईतर्फी गाडी आउजाउ सुरु भएपछि दाउन्नेमा गत २२ घन्टादेखि रोकिएका गाडी गन्तव्यतर्फ छुटेका छन् । महेन्द्रराजमार्ग हुँदै पूर्व–पश्चिमका लागि छुटेका गाडी दुम्किबासको विनयी खोलाको डाइभर्सनमा एकतर्फी यातायात सञ्चालन हुँदा पालो पर्खेका सयौं गाडी दाउनन्ने र दुम्किबासमा अलपत्र थिए । शनिबार दिउँसो दाउन्नेदेखि चोरमारा नजिकसम्मको १७ किलोमिटरसम्म जाम थियो ।

गत बुधबार राति बगाएको डाइभर्सन निर्माण गरेर आज आइतबार बिहानदेखि दुईतर्फ नै यातयात सुचारु भएको हो ।

सडक बिस्तारको क्रममा रहेको दाउन्नेको १४ किलोमिटर सडक खण्डमा दिनहुँ घण्टौं जाम हुने गरेको छ । सडक निर्माणको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले त्यहाँ कछुवा गतिमा काम गर्दा यस्तो समस्या भइरहेको हो ।

अघिल्लो महिना दाउन्नेमा काम चाँडो गर्न अनुरोध गर्न पुगेका यातायातमन्त्री देवेन्द्र दाहाल आफैं चार घण्टा जाममा परेपछि प्रहरीले उद्धार गरेर फर्काइदिएको थियो ।

उनी फर्केको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओली चितवनको गोन्द्राङ सडक उद्घाटन गर्न आएको मेसोमा गैंडाकोट पुगेर महेन्द्रराजमार्गको स्थलगत निरीक्षण गरेका थिए । उनले त्यतिबेलै चिनियाँ ठेकेदारका प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव समेतलाई बर्खा अगावै दाउन्नेमा जाम नहुने गरी काम गर्न निर्देशन दिएका थिए । निर्देशन दिएर प्रधानमन्त्री,मन्त्री फर्किए तर दाउन्नेमा काम कछुवा गतिमै छ ।

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully