वार्ताबाट हल खोज्न पर्यटन व्यवसायी र पोखरा उद्योग वाणिज्य संघको आग्रह
पोखरा — गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी नियमावली खारेजीको माग गर्दै सार्वजनिक यातायात व्यवसायीले गरेको आन्दोलनको पोखराका उद्योगी एवं पर्यटन व्यवसायीले विरोध गरेका छन् । गण्डकीमा तीन दिनदेखि भइरहेको सार्वजनिक यातायात बन्दको विरोध गर्दै वार्ता र संवादबाट हल खोज्न उनीहरूले आग्रह गरेका छन् ।
पोखरा उद्योग वाणिज्य संघले आइतबार विज्ञप्ति प्रकाशन गर्दै बन्द र हड्ताललाई माग सुनुवाइको माध्यम नबनाउन आन्दोलनरत व्यवसायीलाई आग्रह गरेको छ । संघले समसामयिक समस्याको समाधान संवाद र छलफलबाट खोजिनुपर्नेमा जोड दिएको छ ।
संघका उपमहासचिव सुदीप प्रधानाङ्गद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हामी सधैं बन्द र हड्तालको विरोधमा छौं । यस्ता कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई ठूलो क्षति पुर्याउँछन् ।’ एक दिनको बन्दबाट नै करिब ६ अर्ब रुपैयाँको घाटा हुने अनुमानलाई नजरअन्दाज गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ । संघले आफ्नो व्यवसायको सुरक्षा माग गर्नु उचित भए पनि त्यसका लागि सेवा अबरुद्ध गर्नु उपयुक्त माध्यम नभएको स्पष्ट पारेको छ ।
गण्डकी प्रदेश सरकारको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावलीको संघले स्वागत गर्दै सार्वजनिक यातायात क्षेत्रमा निजी लगानीको संरक्षण सुनिश्चित गर्न सरकारको पनि ध्यानाकर्षण गराएको छ । ‘सूचना प्रविधिको विकासले ल्याएका नयाँ सम्भावनाहरूलाई न त रोक्न सकिन्छ, न त नकार्न,’ विज्ञप्तिमा भनिएको छ, ‘राइड सेयरिङ प्रविधिको एक आधुनिक सुविधा हो, जसले रोजगारी सिर्जना, राजस्व वृद्धि र युवाको विदेश पलायन न्यूनीकरणमा भूमिका खेल्न सक्छ ।’
संघले नेपालमा सार्वजनिक यातायातको जिम्मेवारी विगतदेखि निजी क्षेत्रले बोकेको स्मरण गराउँदै त्यसमा गरिएको लगानीको सुरक्षामा राज्य गम्भीर हुनुपर्ने उल्लेख गरेको छ । व्यवसाय गर्ने स्वतन्त्रता संविधानले दिएको अधिकार भएको भन्दै यस क्षेत्रलाई व्यवस्थित र यात्रु अनुकूल बनाउन सरकारले सहजीकरण गर्नुपर्ने संघको माग छ । राइड सेयरिङ सेवाले परम्परागत यातायात क्षेत्रलाई असर पुर्याउने भनेर उठाइएको चिन्तालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने र यथार्थ के हो भन्ने प्रष्ट पार्नुपर्ने संघको भनाइ छ । उत्पन्न गतिरोध समाधान गर्न आवश्यक सहजीकरणको भूमिका खेल्न आफू तयार रहेको संघको विज्ञप्तिमा उल्लेख छ ।
पोखरा र गण्डकी प्रदेशमा पर्यटक सवारी साधनको सञ्चालनमा आएका अवरोधप्रति पोखरा पर्यटन परिषद्ले गम्भीर ध्यानाकर्षण गराएको छ । परिषद्का अध्यक्ष तारानाथ पहारीद्वारा जारी विज्ञप्तिमा यस्ता अवरोधले गण्डकी प्रदेशको समग्र पर्यटन क्षेत्रमा प्रतिकूल असर पार्ने र आन्तरिक तथा बाहृय पर्यटकबीच नकारात्मक सन्देश प्रवाह हुने खतरा बढेको उल्लेख छ । पर्यटन नेपालको समृद्धिको एक मुख्य आधार भएकाले यस क्षेत्रको व्यवस्थापन र सुरक्षामा सबै सरोकारवालाको साझा जिम्मेवारी रहेको विज्ञप्तिमा बताइएको छ ।
‘बन्द नै समाधान होइन,’ परिषद्ले स्पष्ट गरेको छ । अघिल्ला बन्द–हडतालको समयमा पनि पर्यटक सवारी साधन निर्वाध रूपमा सञ्चालन हुँदै आएका उदाहरण दिँदै परिषद्ले अहिले पनि यस्ता साधनलाई अवरोधरहित सञ्चालन गर्न वातावरण निर्माण गर्न माग गरेको छ ।
परिषद्ले सार्वजनिक यातायात बचाऊँ संघर्ष समिति र सबै सरोकारवाला निकायलाई सम्बोधन गर्दै पर्यटनमैत्री वातावरण निर्माणका लागि आग्रह गरेको छ । साथै, परिषद्ले शान्तिपूर्ण, व्यवस्थित र पर्यटकमैत्री वातावरण निर्माणका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि जनाएको छ ।
गण्डकी प्रदेशमा जारी सार्वजनिक यातायात अवरुद्धका कारण यात्रु तथा पर्यटकले भोग्नुपरेको असहज अवस्थाप्रति होटल संघ पोखरा नेपालले गहिरो चिन्ता व्यक्त गर्दै वार्ताबाट समस्या समाधान गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीले आइतबार जारी गरेको विज्ञप्तिमा सरकार र यातायात व्यवसायीबीच संवादमार्फत सहमति खोजी यातायात सेवा यथाशीघ्र पुनः सञ्चालन गर्न आग्रह गरिएको छ । ‘जसका–जसका माग छन्, ती वार्ताबाट समाधान होऊन्,’ विज्ञप्तिमा भनिएको छ, ‘तर सार्वजनिक सेवा बन्द गर्नु कुनै दीगो समाधान होइन ।’ संघले लामो समयदेखि पर्यटन क्षेत्र बन्द र हड्तालको प्रतिकूलताबाट प्रभावित हुँदै आएको स्मरण गराउँदै यस्ता गतिविधिले नेपाल र पोखराको पर्यटन छवि धुमिल हुने चिन्ता व्यक्त गरेको छ ।
अहिले पोखरा ‘पर्यटन वर्ष २०२५’ मनाइरहेको र अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ औं वर्षगाँठ मनाउन तयारी भइरहेको बेला यातायात सेवाको अवरोधले अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश जान सक्नेतर्फ संघले ध्यानाकर्षण गराएको छ । ‘यो समस्या समाधानको एउटै बाटो छ– वार्ता,’ होटल संघ अध्यक्ष सुवेदीले भने, ‘पर्यटनमैत्री वातावरण निर्माणमा सबैले सकारात्मक भूमिका खेल्नुपर्छ ।’
वार्ता गर्न सरकार गम्भीर छैन : यातायात व्यवसायी
गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङसम्बन्धी नियमावली २०८२’ लागू गरेपछि विरोधस्वरूप सार्वजनिक यातायात व्यवसायी र मजदुरहरुले जेठ १६ देखि गाडी ग्यारेजमै थन्क्याउँदै आन्दोलन जारी राखेका छन् । नियमावलीअनुसार रातो नम्बर प्लेट भएका दुईपांग्रे तथा चारपांग्रे निजी सवारीसाधनले सार्वजनिक सवारीसरह यात्रु ओसारपसार गर्न पाउने व्यवस्था गरिएको छ ।
नियमावली खारेजीको माग पूरा नभए सोमबारबाट देशभरका सार्वजनिक यातायात बन्द गर्ने व्यवसायीको तयारी छ । यसबीच, सार्वजनिक यातायात बचाऔं संघर्ष समितिले वार्ता र संवादमा प्रदेश सरकार नै गम्भीर नभएको आरोप लगाएको छ । समितिले आइतबार विज्ञप्ति जारी गर्दै वार्ता र संवादका लागि प्रदेश सरकारले हालसम्म औपचारिक रूपमा नबोलाएको उल्लेख गरेको छ ।
समितिका संयोजक केदार पौडेलले गण्डकी प्रदेश सरकारले वार्ता समिति गठन गरे पनि उक्त समितिका संयोजकसँग एकपल्ट केवल अनौपचारिक छलफल भएको र त्यसपछि वार्ताका लागि कुनै औपचारिक पत्राचार वा सम्पर्क नभएको बताए ।
‘सरकार एकपक्षीय रूपमा व्यवसायीले वार्ता अस्वीकार गरे भन्ने भ्रमपूर्ण प्रचारमा लागेको छ,’ उनले भने, ‘जबकि वार्तामा बोलाइएको भन्ने कुरा हामीले सञ्चारमाध्यमबाट मात्रै थाहा पाएका छौं ।’ वार्ताको ढोका २४ घण्टा खुला रहेको विज्ञप्तिमा उल्लेख छ ।
