'राइड सेयरिङ'को विरोधमा गण्डकी प्रदेशभर यातायात सेवा ठप्प

जेष्ठ १६, २०८२

कान्तिपुर संवाददाता

Transport service stopped across Gandaki province in protest against 'ride sharing'

गोरखा — राइड सेयरिङको विरोधमा सार्वजनिक यातायात व्यवसायीको आन्दोलनका कारण आज गण्डकी प्रदेशमा सार्वजनिक यातायात सञ्चालन नहुँदा जनजीवन प्रभावित भएको छ । 

गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई कानुनी मान्यता दिने उद्देश्यले ल्याएको नयाँ नियमावलीको विरोधमा यातायात व्यवसायीले सार्वजनिक सवारी ठप्प बनाएका हुन् । आन्दोलनका कारण शुक्रबार बिहानैदेखि गण्डकीका विभिन्न जिल्लामा लामो तथा छोटो दुरीका बस, ट्याक्सी सञ्चालनमा आउन सकेका छैनन् । 

सार्वजनिक यातायात बन्द हुँदा भोलि पोखरामा शिक्षक सेवा आयोगले सञ्चालन गर्न लागेको निम्न माध्यामिक विद्यालय तहको लिखित परीक्षामा सहभागी हुन लागेका परीक्षार्थी बाहिरी जिल्लामै रोकिएका छन् ।

‘प्रदेशभर सार्वजनिक यातायात बन्द हुँदा पोखरा हुँदै देशका अन्य सहरमा चल्ने लामो दुरीका सवारीसाधन नचल्दा जनजीवन प्रभावित भएको छ ।भोलि पोखरामा सञ्चालन हुने शिक्षा सेवा आयोगको परीक्षामा सहभागी हुन जान लागेका परिक्षार्थीले बेनीमा अलपत्र पर्‍यौं भनी फोन गर्नुभएको छ,’ म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले भने, ‘परीक्षार्थीलाई पोखरा पुर्‍याउन पहल गरिरहेका छौं ।’

प्रदेश सरकारले वैशाख ३१ गते २ पाङ्ग्रे र ४ पाङग्रे रातो प्लेटको निजी सवारीसाधानलाई सार्वजनिक भाडाका साधनसरह यात्रु ओसारपसार गर्न पाउने गरी राजपत्रमा सूचना प्रकाशित गरेको विरोधमा सार्वजनिक सवारी साधन आ–आफ्नो घर ग्यारेजमा राखी आन्दोलनमा उत्रिएको यातायात व्यवसायीको संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी जनाएका छन् । गण्डकी प्रदेश सरकारले गत चैत ३१ गते मन्त्रिपरिषद् वैठकले राइड सेयरिङ सम्बन्धी नियमावली पारित गरेको थियो ।

गोरखामा दरौंदी यातायात सेवा कम्पनी प्रालि, पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालि सेवा प्रदायक कार्यालय गोरखा र गोरखा मनाकामना यातायात सेवा प्रालिले संयुक्त प्रेस विज्ञप्तिमार्फत सार्वजनिक यातायात बचाउ संघर्ष समितिको घोषित आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् । स्कुल बसको हकमा जेठ १८ गतेसम्म प्रालिमार्फत सञ्चालित बस सञ्चालनमा रोक नलगाउने पनि विज्ञप्तिमा उल्लेख छ । १९ गतेपश्चात् केन्द्रीय संघर्ष समितिको निर्णयबमोजिम हुने व्यसायीले बताएका छन् ।

शुक्रबार गण्डकी प्रदेशभर र १९ गतेबाट देशभर सार्वजनिक सावरीसाधन बन्द हुने सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले घोषणा गरेको छ ।

कान्तिपुर

Link copied successfully