भीमसेन थापा र सहिद लखन गाउँपालिकामा सुविधासम्पन्न भवन

जेष्ठ १४, २०८२

हरिराम उप्रेती

Bhimsen Thapa and Saheed Lakhan Rural Municipality buildings with amenities

गोरखा — भीमसेन थापा र शहिद लखन गाउँपालिकाले सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गरेका छन्। दुवै गाउँपालिकाका नवनिर्मित भवनको मंगलबार माओवादी अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे।

सहीद लखन गाउँपालिकाको ८ करोड ४३ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको हो । संघीय सरकार अन्तर्गत स्थानीय पुर्वाधार विभागको ३ करोड ४९ लाख, समन्वय समितिको ७७ लाख र शहिद लखन गाउपालिकाको ४ करोड १६ लाख रुपैयाँ लागत साझेदारीमा भवन निर्माण सम्पन्न भएको गाउँपालिकाका इन्जिनियर राजन रानाभाटले जानकारी दिए।

शहिद लखन–६ स्थित घैरुङ पिपलछापमा निर्माण भएको चार तले भवनमा कार्यपालिका हल, न्यायिक समितिको हल, सेमिनार हलसहित ५२ वटा कोठाहरू रहेका छन्। प्रत्येक शाखाको छुट्टा/छुट्टै कक्ष रहेका छन्। २०७७ चैत २ गतेबाट निर्माण सुरु भएको शहिद लखनको भवनको गत पौष १७ गते निर्माण सम्पन्न भएको थियो । 

त्यस्तै भीमसेनथापा गाउँपालिकाको भवन तीनतले २५ कोठे भवन बनेको छ। भवन निर्माणका लागि ३ करोड ४३ लाख लागत लागेको गाउँपालिकाले जनाएको छ। संघीय सरकारको २० प्रतिशत, समन्वय समितिको ३० प्रतिशत र गाउपालिकाको ५० प्रतिशत लागत साझेदारीमा भवन निर्माण सम्पन्न भएको हो । 

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully