सडक खन्ने क्रममा पहिरोले पुरिएर एक्साभेटर चालकको मृत्यु

जेष्ठ १३, २०८२

रासस

Excavator driver killed by landslide while digging road

म्याग्दी (बेनी) — म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनास्थित दरखोला जलविद्युत् आयोजनामा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जलविद्युत् आयोजनाको पाइपलाइनका लागि निर्माणाधीन कुनौटा–दर शिलबाङ मोटरबाटो खन्ने क्रममा खसेको पहिरोमा पुरिएर एक्साभेटर चालक ३२ वर्षीय खेमराज कुमालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

स्याङ्जाको चापाकोट नगरपालिका–८ घर भएका एक्साभेटर चालक कुमालको शव एक्साभेटरभित्रै च्यापिएको अवस्थामा फेला परेको र शव परीक्षणका लागि प्रदेश अस्पताल बेनी पठाउने तयारी गरिएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक विक्रम तिवारीले जानकारी दिए। घटनापछि प्रहरी र स्थानीयवासीले एक्साभेटर चालकको शव पहिरोबाट बाहिर निकालेका थिए।

मोटरबाटो खन्दै गरेको समयमा अचानक माथिबाट खसेको पहिरोले एक्साभेटर समेत पूर्ण रूपमा क्षति पुर्‍याएको छ। दरखोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ६ दशमलव ५ मेगावाट क्षमताको दरखोला जलविद्युत् आयोजनाले ‘पेनस्टक पाइप’ राख्नका लागि अहिले लाम्पुस भीरमा सडक निर्माण गरिरहेको छ।

रासस

Link copied successfully