तरंगा खोलामा काम थालेको ६ वर्षपछि पक्की पुल 

जेष्ठ १३, २०८२

नारायण शर्मा

Concrete bridge after 6 years of work on Taranga river

नवलपरासी — पूर्वी नवलपरासीको पहाडी बुलिंटार गाउँपालिका र गैँडाकोट नगरपालिकाको सिमानामा पर्ने तरंगा खोलामा निर्माण सुरु गरेको ६ वर्षपछि बल्ल पक्की पुल निर्माण भएको छ ।

२५ मिटर लामो पुल एक साताअघि ढलान भएको हो । चितवनको लोहनी एन्ड ब्रदर्श, लोहनी एन्ड सन्स जेभीले काम थालेको ६ वर्षपछि अघिल्लो साता पुल ढलान गरेको हो । गैँडाकोट बुलिङटार, डेढगाउँ हुँदै पाल्पाको रामपुर र पिपलडाँडा जोड्ने यो कालिगण्डकी करिडोरको पुल निर्माणमा ढिलाइ हुँदा वर्षायाममा आउजाउमा समस्या हुँदै आएको छ । कालिगण्डकी करिडोर अन्तर्गत बाँकी रहेका अन्य ४ वटा पुल निर्माण भएको छ ।

करिडोरका इन्जिनियर अरुण खत्रीका अनुसार ५ करोडभन्दा बढीको लागतमा तरंगा खोलाको पुलमा असारबाट गाडी हिँडाउन मिल्छ । ७ सय मिटर सडक पुलको दायाँबायाँ निर्माण गर्न बाँकी छ । पुल नजिकको एप्रोच रोड निर्माणको काम आउँदो वर्ष सम्पन्न हुने खत्रीले जानकारी दिए । तरंगा खोला पुल नारायणगढबाट २७ किलोमिटर उत्तर पश्चिममा पर्छ । नारायणगढ गैँडाकोट हुँदै कालिगण्डकी करिडोरको बुलिङटार पुग्नु अगावै यो तरंगा खोला पुल पर्दछ ।  

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully