पर्वत — कुस्मा नगरपालिका–२ का रामबहादुर क्षत्रीले 'खुर्कोट मौरी घार' नामक उद्योग सञ्चालनमा ल्याएको २४ वर्ष भयो। उनले बनाएको मौरी घार जिल्लामै खपत हुने गर्छ। तर यो वर्ष भने उनको मौरी घार बिक्री भएको छैन। उनी भन्छन्, ‘बनाएर राखेका मौरी घार स्टक छन् । खै, यो वर्ष चाहिँ बेच्न सकिन्न होला ।’
हरेक वर्ष ३ सय देखि ५ सय मौरी घार बेचेका रामबहादुरले यो वर्ष भने ५० वटा मात्र बेच्न सकेका छन्। कुस्मा नगरपालिका र कृषि ज्ञान केन्द्र, पर्वतले विगतमा उनको उद्योगबाट धेरै मौरी घार खरिद गर्थ्यो । तर, नगरपालिकाले आर्थिक वर्ष सकिन लाग्दा समेत मौरी घार खरिद नगरेपछि यो वर्ष उनको मौरी घार गोदाममै थन्किने भएको छ ।
'कृषि कार्यालयले सुरुवात देखि नै हाम्रो घार लान्थ्यो । यति बेला मौरीसहितको घार बाँड्ने भनेर लगेका छैनन्’, उनी निराश हुँदै भन्छन्, ‘मौरी घार बनाउनेहरू थपिँदै गएका छन् । कुस्मा नगरपालिकाले पनि जहाँ नजिक पर्छ त्यहीँबाट खरिद गर्र्यो होला ।’ उनले यस बाहेक फाट्टफुट्ट घरगाउँतिरै मौरी घार बेच्ने गर्छन् ।
२०५८ सालमा रामबहादुरका बुवाले मौरी घार बनाउन सुरु गरेका थिए । बुवाको कामलाई सघाउँदै आएको उनले यही सीपलाई नै व्यवसाय बनाउन पुगे । परिवारको घरखर्च राम्रै चलेको उनी बताउँछन् । पर्वतमा मौरी घार बनाउने उनी एक्ला जस्तै थिए । तर पछिल्लो समय भने धेरैले मोरी घार बनाउन सुरु गरिसकेकाले प्रतिस्पर्धा बढी हुन थालेको रामबहादुर बताउँछन् ।
उनले एउटा मौरी घारको ३५ सयमा बेच्छन् । धेरै खरिद गर्नेलाई केही रुपैयाँ मिलाएर पनि दिने गरेको उनी सुनाउँछन् । मौरी घार टुनी र उतिसको काठबाट बनाउने गरेको उनले बताए । ‘अरूले त मौरी घार विभिन्न काठहरूबाट पनि बनाउँछन् रे’, उनले भने, ‘मौरी घार लैजानेले राम्रो छ भन्नु हुन्छ । गाउँमा उतिस र टुनी नपाउँदा बाहिरबाट ल्याएर भए पनि काम गर्छौँ ।’
उनको उद्योगमा गाउँका तीन जनाले रोजगार पाएका छन् । मौरी घारको माग अनुसार कामदार पनि थप्ने गरेको रामबहादुरले बताए । ‘नियमित म सहित चार जनाले काम गर्छौँ’, उनले भने, ‘विगत वर्षहरूमा थप कामदार आवश्यक पर्थ्यो, अहिले भने हामी नै धेरै भएका छौँ ।’
रामबहादुरलाई राज्यले सहयोग गरेका छैनन् । ‘उद्योगलाई सहयोग गर्न मिल्दैन भन्छन्’, उनले भने, ‘स्थानीय निकायले खरिद चाँहि गरेको छ । यसलाई सहयोग भन्ने कि व्यापारिक सम्बन्ध । उद्योगलाई अनुदान भनेर एक पैसा लिएको चाहिँ छैन ।’
मौरी घार व्यवसायबाट आजका दिनसम्म सन्तुष्ट नै रहेको रामबहादुर बताउँछन् । उनको तीन वटा छोरा, एउटी छोरी र श्रीमती सहितको परिवार छ । एउटा छोरा विदेशमा रोजगार गर्छन् भने दुई वटा छोरा नेपालमै छन् । छोरीको भने विवाह भइसकेको रामबहादुरले बताए ।
