एउटै आलुको तौल आधा किलो!

जेष्ठ १०, २०८२

सुमनजंग थापा

One potato weighs half a kilo!

पर्वत — जलजला गाउँपालिकामा एउटै आलु ५ सय ग्रामको फलेको छ । गाउँपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यले सामाजिक सञ्जालमा राखेपछि आलुले चर्चा पाएको हो । 

‘सेतो आलु हो । हेर्दा नास्पतीजस्तै देखिन्छ । खाँदा पनि मिठो छ । चिप्स बनाउन राम्रो हुन्छ’, उनले भने ।

जलजला गाउँपालिका–७ माथिल्लो धाइरिङस्थित धारापानी साहुटोलका कृषक रामु आचार्यले आधा केजीको आलु फलाएका हुन् । यसपाली आलु राम्रो फलेकोमा उनी खुसी छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धार स्वाँतबाट उनले आलुको बिउ ल्याएका हुन् ।

‘पहिलो पटक लाहुरो जातको आलु ल्याएर एक रोपनी जमिनमा रोपेको थिएँ’, उनले भने, ‘धेरै आलुहरु ३/४ सय ग्रामका फलेका छन् । यो वर्ष सोचे भन्दा बढी आलु उत्पादन हुने भयो ।’ 

उनले आलु सँगै काउली, टमाटर, बन्दा लगायतका मौसमी तरकारीहरु फलाउँदै आएका छन् । ‘आफ्नै गाडीमा गाउँमा उत्पादन भएका कृषि उपजहरु बजार पुर्‍याएर बेच्ने गरेको छु’, आचार्यले भने ।

जलजला गाउँपालिकाका सूचना अधिकारी एवं धाइरिङका स्थानीय समेत रहेका भेषनाथ आचार्यले एक सय रोपनीजती जमिनमा पहिलो पटक लाहुरे जातको आलुको बिउ लगाइएको बताएका छन् । 

एक दुई जना किसानको बारीमा फलेको आलु हेर्दा उत्पादन राम्रै हुने देखिएको उनी बताउँछन् । भन्छन्, ‘एक हजार क्विन्टलजति आलु उत्पादन हुन्छ भन्ने मेरो अनुमान छ ।’ धाइरिङ आलु र क्राँक्राको बिउको लागि पनि प्रख्यात छ ।

सुमनजंग थापा सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully