काठमाडौँ — आँबुखैरेनी गाउँपालिका–४ बेनीटारबाट बिहीबार दिउँसो अवैध हतियारसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोट नगरपालिका–१२ का २५ वर्षीय मिलन ढकाल र चितवनको माडी नगरपालिका–७ का ३२ वर्षीय विजय तिवारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुको साथबाट स्पेसल मेड इन यूएसए ७७१ लेखिएको एक थान पेस्तोल, एक थान म्याग्जिन र एक थान गोली बरामद गरेको जिल्ला प्रहरी नायव उपरीक्षक अशोक थापाले बताए ।
मुलिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना२८प१५१९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा ढकालले भिरेको झोलाभित्र लुकाएर ल्याएको अवस्थामा पेस्तोल फेला परेको थियो । पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिई कार्यालयबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
