नवलपरासी — कावासोती नगरपालिकाले पूर्व-पश्चिम महेन्द्र राजमार्गको सडक बीचमा अव्यवस्थित रूपमा राखिएका होडिङ बोर्ड सात दिन भित्र हटाउन निर्देशन दिएको छ ।
नगरपालिकाले एक सूचना निकालेर राजमार्ग र चोक चोकमा आफूखुसी राखिएका होडिङ बोर्डले यातायातमा असुविधा हुनुका साथै नगरपालिकाको सुन्दरतामा समेत कुरूपता थपेको भन्दै सात दिन भित्र अनिवार्य हटाइ सक्न भनेको हो।
जिल्ला सदरमुकाम रहेको कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लीलाराज पौडेलद्वारा जारी गरिएको सूचनामा तोकेको समयमा बोर्ड नहटाए कारबाही गर्ने उल्लेख छ । राजमार्गको बिच बिचमा र चोक चोकमा स्थानीय व्यापारी, सङ्घसंस्था र क्लबले आआफ्नो प्रचारकालागि बोर्ड झुन्डाएको डेढ वर्ष पछि नगरपालिकाले पहिलो पटक सूचना जारी गरेर हटाउन आदेश दिएको हो ।
