बागलुङका पाँच पालिका पूर्णखोप सुनिश्चित घोषणा

जेष्ठ ८, २०८२

रासस

Five municipalities of Baglung have been declared to be completely clean

बागलुङ — बागलुङका पाँच स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको छ । जिल्लाको बागलुङ, गलकोट, ढोरपाटन र जैमिनी नगरपालिका तथा ताराखोला गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको हो । 

बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका छ सय ६३ जना बालबालिकाले नियमित खोप लगाइरहेका र १६ देखि २४ महिना उमेर समूहका चार सय ४९ जनालाई खोप दिएपछि पूर्णखोप सुनिश्चित नगर बनेको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताए। नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थामा खोपको सुविधा उपलब्ध गराएको उनले बताए। 

गलकोट नगरपालिकामा जन्मेदेखि १५ महिनाका चार सय २७ जना बालबालिका र १६ देखि २३ महिनाका तीन सय २७ बालबालिकालाई खोप दिएपछि नगरलाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख सुशिल पौडेलले जानकारी दिए। पालिकामा १४ वटा स्वास्थ्य संस्था रहेका जनाउँदै उनले सबै संस्थाबाट खोप दिने व्यवस्था मिलाइएको बताए।

ढोरपाटन नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका छ सय आठ बालबालिका र १६ देखि २३ महिना उमेर समूहका चार सय ५४ जना बालबालिकालाई खोप दिएपछि नगरलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य संयोजक भुमिश्वर शर्माले बताए।

गत माघ १ गतेदेखि खोजपड्ताल कार्यक्रम सुरु गरिएको भन्दै गत चैत्र र गत वैशाखमा नौ वटै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरेसँगै अहिले पालिकालाई घोषणा गरिएको उनले बताए। 

जैमिनी नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका तीन सय १३ र १६ देखि २३ महिना उमेर समूहका दुई सय २६ बालबालिकालाई खोप दिएपछि नगरलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य संयोजक गोविन्दप्रसाद शर्माले जानकारी दिए। 

जिल्लाको ताराखोला गाउँपालिकामा १५ महिना उमेर समूहका एक सय २३ जनाले नियमित खोप लगाइरहेका र १६ देखि २३ महिना उमेर समूहका ७० जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख उदित थापाले बताए। पलिकामा छ वटा स्वास्थ्य संस्था रहेका भन्दै ती सबैबाट खोप सेवा दिने व्यवस्था मिलाइएको उनको भनाइ छ । 

रासस

Link copied successfully