पर्यटकलाई सजिलोका लागि गोरखा नगर क्षेत्रमा ‘स्ट्रिट नम्बर’

जेष्ठ ७, २०८२

हरिराम उप्रेती

”Street number” in Gorkha Nagar area for the convenience of tourists

गोरखा — सन् २०२५ लाई पर्यटनवर्ष घोषणा गरेको गोरखा नगरपालिकाले पर्यटकको सजिलोका लागि नगर क्षेत्रमा ‘स्ट्रिट नम्बर’ राखेको छ । नगर क्षेत्रका मुख्य चोकमा क्यू आरकोड सहितको ३९ वटा स्ट्रिट नम्बर राखिएको गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकालले जानकारी दिए ।

‘पहिलो चरणमा ३९ वटा स्ट्रिट नम्बर र ऐतिहासिक र पर्यटकीय स्थलमा २४ वटा होडिङ बोर्ड राखेका छौं,’ उनले भने, ‘गोरखा आउने पर्यटकलाई नगरपालिकाको विभिन्न क्षेत्रमा पुग्न सजिलोका लागि स्ट्रिट नम्बरिङ गरेका हौं ।’

आँबुखैरेनीबाट गोरखा प्रवेश गर्ने गोरखा गेटदेखि बसपार्क हुँदै गोरखा दरबार र हरमटारी चोकदेखि अस्पतालमार्ग हुँदै कोखे आहालेसम्मको क्षेत्रमा स्ट्रिट नम्बर राखिएको हो । मुख्य चोकमा राखिएको स्ट्रिट नम्बरमा क्यू आर कोड पनि राखिएको छ । 

‘क्यू आर कोडालाई व्यवस्थित गर्नै बाँकी छ,’ उनले भने,‘क्यू आर कोडमा स्क्यान गरेपछि त्यो चोकबाट अर्को महत्त्वपूर्ण ठाउँ कहाँ कहाँ पुन्न सकिन्छ, उल्लेख रहन्छ, त्यो चोकबाट पुगिने पर्यटकीय र ऐतिहासिक ठाउँको बारेमा जानकारी पनि पाउन सकिन्छ ।’ 

स्ट्रिट नम्बरले गोरखा आउने आन्तरिक तथा बाहृय पर्यटकलाई विभिन्न पर्यटकीय स्थलबारे जानकारी प्राप्त गर्न र पुग्न सहज बन्ने अपेक्षा राखिएको छ । गोरखा नगर क्षेत्रभित्र ५६ वटा ऐतिहासिक र पर्यटकीय गन्तव्य पनि पहिचान गरिएको छ । अहिले २४ वटा ऐतिहासिक र पर्यटकीय स्थलमा होडिङ बोर्ड राखिएको छ । होडिङ बोर्डमा पनि क्यूआरकोड रहेको ढकालले बताए । 

होडिङ बोर्ड मार्फत धार्मिक र ऐतिहासिक महत्त्वको विषयवस्तु उल्लेख गरिएको छ । ‘पर्यटन वर्षको लक्षित कार्यक्रम अनुसारको योजनाबाट स्ट्रिट नम्बर र होडिङ बोर्ड राखेका हौं,’ उनले भने, ‘स्ट्रिट नम्बरिङ र होडिङ बोर्डले त्यो ठाउँको पहिचान पनि स्थापित गर्छ, पर्यटकीय स्थल पुग्ने पर्यटकलाई पनि सहज बन्छ, पर्यटकीय हिसाबले पनि चिनाउन सघाउ पुग्छ ।’ स्ट्रिट नम्बर र होडिङ बोर्ड राख्न १० लाख रुपैयाँ खर्च भएको छ ।

गोरखा–आँबुखैरेनी सडकखण्डको गोरखा गेट, अवुँवा, दशकिलो, आयुर्वेदिक चोक, रंगशाला चोक, हरमटारी चोक, पुरानो बसपार्क लगायतका क्षेत्रलाई नम्बरिङ गरी स्ट्रिट नम्बर राखिएको हो । पर्यटकीय गन्तव्य पहिचान भएको अन्य क्षेत्रमा पनि आवश्यकताका आधारमा सूचनामुलक होडिङ बोर्ड राख्ने नगरपालिकाको तयारी छ ।

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully