गोरखा — बसले च्यापेर गोरखा नगरपालिका–४ फिनामकी ४ वर्षीया सुविना सुर्खेतीको मृत्यु भएको छ । उनको आमा २२ वर्षीया विनिता सुर्खेती गम्भीर घाइते भएकी छिन् ।
बुधबार गोरखाबाट आरुघाटतर्फ गइरहेको ग २ ख ९२९ नम्बरको बसमा सवार रहेका विनिता र सुविना ओर्लने क्रममा सोही बसको पछाडिको चक्काले च्यापेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक सरोज कार्कीले बताए ।
सुविनाको घटनास्थलमा मृत्यु भएको र गम्भीर घाइते विनिताको प्रदेश अस्पताल गोरखामा उपचारपश्चात् बिएन्डबी हस्पिटल काठमाडौं रेफर गरिएको छ । विनिताको कम्मर मुनिको भागमा चोट लागेको छ ।
बस चालक भिमसेन थापा गाउँपालिका–४ धावाका २५ वर्षीय विनोद लामिछानेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
