दुईसय १९ वर्ष पुरानो ‘रानीपौवा’

जेष्ठ ७, २०८२

प्रकाश बराल

219 years old 'Ranipaua'

बागलुङ — पुरानो र जीर्ण भवन । माटोको छानोभित्र दुईतले चतुर्भुज आकारको भवनभित्र दर्जनौं कोठा छन् । काठमा थाम र दलीन अजंगका छन् । राजधानीको पुराना दरबारको मोडलमा बाक्लो गाह्रो लगाइएको छ ।

यहाँ आश्रय लिन आएमा एकैपटकमा डेढ सय देखि २ सय पाहुना बस्न सक्छन् । खाना खानु परेमा त समयमा जानकारी दिएको खण्डमा १ हजार जना सम्मलाई सेवा दिइन्छ । यो कुनै व्यापारिक भवन भने होइन । बरु दाताले दिएको दानमुठीको भरमा चलेको धर्मशाला हो । 

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं १ को रानीपौवामा रहेको धर्मशालाले पर्यटकलाई यो सेवा दिइरहेको हो । यो भवनभित्रै रहेको शिलालेखमा विसं १८६३ सालमा भवन बनेको उल्लेख छ । अन्य भाषा स्पष्ट नभए पनि मिति स्पष्ट देख्न सकिन्छ । 

२ सय १९ वर्षदेखि यो धर्मशाला ‘रानीपौवा’को रुपमा परिचित छ । यो भवन बनेको समयमा नेपालमा रणबहादुर शाह राजा थिए । शाहले कान्छी रानीको निधनपछि यो भवन बनाइदिएको उल्लेख छ । स्थानीय जनप्रतिनिधि तथा बारागुङ गाउँपालिकाका प्रवक्ता प्रमेश गुरुङले पनि रानीको स्मृतिमा भवन बनेको शिलालेखले पुष्टि गरेको बताए । सोही समयदेखि यो स्थानको नाउँसमेत रानीपौवा नामाकरण भएको उनले बताए ।

मुक्तिनाथ जानका लागि लमजुङको बेसीशहर, मनाङ, थ्रोङलापास गरेर एकाथरी पुग्थे भने म्याग्दीको बेनी, जोमसोम, कागबेनी हुँदै पुग्ने अर्काथरी हुन्थे । उनीहरुलाई खानबस्न होटल थिएनन् । अहिले दर्जनौं होटल खुलेका छन् । सडकले गर्दा पैदल हिँड्न पनि पर्दैन । तर २ सय १९ वर्ष पुरानो रानीपौवा धर्मशालाले भक्तजनलाई निरन्तर सेवा दिइरहेको छ । यहाँ अहिले मुक्तिनाथ पिठाधिश्वर कमलनयनाचार्य र उनका उत्तराधिकारी ऋषि प्रपन्नाचार्य समेतले व्यवस्थापकीय रुपमा हेरेर नि:शुल्क भोजनको व्यवस्थापन गरिरहेका छन् । 

यहाँ सरकारी वा गैरसरकारी संस्थाको सहयोग छैन । बरु मुक्तिनाथ आएका भक्तजनले चढाएको मुठीदान र तरकारी संकलन गरेर शुद्ध शाकाहारी भोजन खुवाइन्छ ।

होटल वा अन्यत्र बस्ने व्यवस्थापन नभएकाहरुलाई नि:शुल्क बस्ने बासको पनि व्यवस्था छ । ‘हामीले कोही अलपत्र परेको छ भन्ने थाहा पायौं भने पनि ल्याएर राख्छौं,’ आश्रमका व्यवस्थापकीय काममा खटिएका सुवास आचार्यले भने, ‘गुरुहरु आउँदा पनि यही बस्नुहुन्छ ।’ केही भक्तजनले कुलपितृको नाउँमा रसिद काटेर सहयोग गर्छन् भने कसैले दान पेटिकामा पैसा राखिदिन्छन् । अन्न र सागपात ल्याएर छाडिदिनेहरु पनि प्रसस्तै भएकोले आश्रम सहजै सञ्चालन भएको आचार्यले जानकारी दिए । 

यो काममा यहाँ ५ देखि ६ जना नियमित खटिन्छन् । विभिन्न स्थानबाट बटुक बनेकाहरुले पालो मिलाएर यहाँ सेवा गर्न पुग्छन् । बागलुङ नगरपालिका–४ को कुडुलेफेदीमा रहेको ‘मुक्तिनाथ वेदविद्याश्रम’मा अध्ययन गरेका बटुकहरु पनि बेलाबेला आश्रममा सहयोग गर्न जाने गरेका छन् ।

219 years old 'Ranipaua'

आएका पाहुनालाई नि:शुल्क भोजन (प्रसाद) दिन उनीहरुले दैनिक दर्जन पटक खाना बनाइरहन्छन् । यहाँ भारतीय मूलका भक्तजनले पनि सेवा लिने गरेका छन् । उनीहरुले पनि खाना खाएर फर्कंदा स्वतस्फूर्त सहयोग गरेको आचार्यले बताए । भवन पुनर्निर्माणमा सरकारी बजेटको व्यवस्थापन भएर पुनर्निर्माणको चरणमा पुगेको गाउँपालिकाका प्रवक्ता गुरुङले बताए । 

गुरुङले पनि यो भवन पुरातात्विक भएकोले संघीय सरकारको चासोमा परेको बताए । विभागले यो भवनसहित मुक्तिनाथ आसपासका सबै संरचनाको पुरातात्विक महत्व नबिग्रने गरी पुन निर्माणको लागि डिपिआर बनाएको हो । यो आश्रममा पुग्दा नि:शुल्क खान पाइने भएपछि आवश्यक सामग्री ल्याएर दिनेहरु पनि छन् । ‘मैले पनि मुक्तिनाथ आउँदा यहाँ प्रसाद खाएर जाने गरेको छु,’ पोखराका गंगाधर पराजुलीले भने, ‘दान बाकसमा जति सकिन्छ त्यति दान गर्ने चलन छ ।’ नसक्नेले नदिए पनि करलाग्दी नभएको उनले बताए ।

यो धर्मशाला पुरातात्विक महत्वको भएको धौलागिरि बहुमुखी क्याम्पसका इतिहासका प्राध्यापक रामप्रसाद उपाध्याय बताउँछन् । रणबहादुर शाह राजा हुँदा कान्छी पत्नीको क्षयरोगले मृत्यु भएपछि उनकै सम्झनामा बनाएकोले यो भवनको नाउँ रानीपौवा भएको उपाध्यायले बताए ।219 years old 'Ranipaua'

उनले भने, ‘म्याग्दीको राखुमा रानीपौवाको लागि गुठी समेत स्थापना भएको इतिहास छ ।’ उक्त गुठीमा फलेको अन्नसमेत लगेर पौवामा बस्नेलाई खुवाउने गरिएको उपाध्यायले जानकारी दिए । परापूर्वकाल देखिनै जनताको तहबाट मानव सेवाका लागि धर्मशाला खुल्ने गरेकोमा यहाँ भने राजाले नै स्थापना गराएको उनले बताए ।

पुरातत्व विभागले यस्ता धर्मशाला र पौवाको संरक्षण गर्न सके इतिहास र नेपालीको पहिचान पनि बच्ने उपाध्याय सुझाव दिन्छन् । मुक्तिनाथ क्षेत्रका सबै संरचनाहरु पुरातात्विक भएकोले संरक्षणतर्फ ध्यान दिएको विभागका परियोजना व्यवस्थापक देवेन्द्र भट्टराईले बताए । ‘बृहत गुरुयोजना बनाएर मुक्तिनाथ क्षेत्रका दर्जनौं संरचनाको पुनर्निर्माण गर्न जरुरी छ,’ उनले भने, ‘अत्यावश्यक क्षेत्रमा काम शुरुवात भैरहेको हो ।’ मुक्तिनाथ पुग्ने भक्तजनलाई बस्ने, प्रसाद खाने र व्यवस्थित शौचालय र पोशाक फेर्ने स्थान पनि बनाउने गुरु योजना रहेको उनले बताए । पुनर्संरचना गरिने सबै काम पुरातात्विक महत्वको हुने उनले बताए ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully