अल्पेश्वर गुफाको संरक्षण कसले गर्ने ?

४ लाख १० हजार खर्चेर गुफा सौन्दर्यकरणका लागि नन्दी र कुमारको मूर्ति बनाए पनि थप संरक्षणका काम हुन सकेको छैन

जेष्ठ ६, २०८२

सुमनजंग थापा

Who will protect the Alpeswar cave?

पर्वत — स्थानीयले २०६३ सालमा फेला पारेको अल्पेश्वर गुफा पर्यटक नआउँदा सुनसान बनेको छ । कुश्मा नगरपालिका–९ ज्ञादीमा रहेको यस गुफाको लम्बाइ करिब १ किलोमिटर छ । स्थानीयले गुफाको संरक्षण र सौन्दर्यकरणमा काम गर्दै आए पनि त्यो पर्याप्त छैन । 

गुफा भेटिएपछि स्थानीय बासिन्दा संस्थागत रुपमै गुफाको संरक्षणमा जुटेका थिए । त्यसताका गुफाले राम्रै चर्चा पाएको थियो । गुफालाई धार्मिक पर्यटकीय गन्तव्य बनाएर आन्तरिक पर्यटक भित्रयाउने उद्देश्यसहित स्थानीयले अल्पेश्वर गुफा पर्यटकीय केन्द्र स्थापना गरेका थिए । जसको अध्यक्ष नारायण शर्मा अधिकारी थिए ।

संस्थाले तिहारमा देउसीभैलो खेलेर उठेको रकमले अल्पेश्वर गुफा परिसरमा एक तलाको भवन निर्माण गरेको थियो । ‘२०६५ को तिहारमा देउँसी भट्टाएर उठेको ६५ हजारले भवनको काम गरियो,’ पूर्वअध्यक्ष अधिकारीले भने, ‘गुफाको दैनिकी चलाउन स्थानीयको सहयोग र आजीवन सदस्यबाट उठेको रकम नै खर्च गर्नुपरेको छ ।’ 

संस्थाले गत वर्ष गुफामा लगाएको महायज्ञबाट आएको रकममध्ये ४ लाख १० हजार खर्चेर गुफा सौन्दर्यकरणका लागि नन्दी र कुमारको मूर्ति बनाएको छ । गुफामा आउने साधुसन्त र भक्तजनका लागि भनेर दुईतले सत्तलको काम अघि बढ्दै छ । अल्पेश्वर गुफा पर्यटकीय केन्द्रका अध्यक्ष गोपाल शर्मा अधिकारीका अनुसार संघीय सरकारको १८ लाख र अधिकारी बन्धुको १९ लाख रकमले सत्तल निर्माण गरिएको हो । 

Who will protect the Alpeswar cave?

गुफाभित्र जाडोमा न्यानो र गर्मी मौसममा चिसो हावा बहनु गजबको विशेषता रहेको छ । त्यति मात्र नभएर गुफाका भित्तामा बनेका प्राकृतिक आकृतिमा मनले सोचेअनुरुप भगवानका दृश्य प्रकट हुने गरेको अल्पेश्वर गुफा पर्यटकीय केन्द्रकी उपाध्यक्ष शारदा खड्काले बताइन् । उनका अनुसार गुफाभित्र महादेव, पार्वती, शिवलिंग, गणेश, पाण्डव, हात्तीको सुँड लगायतका आकृति हेर्न पाइन्छ । 

समथर र रमणीय ज्ञादीको फाँट भएर पुग्न सकिने गुफाको बाहिरी भागबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरि हिमाल, पञ्चासे र डहरेदेउरालीको लेक देख्न सकिन्छ । अल्पेश्वर गुफा पर्यटकीय केन्द्रका पूर्वअध्यक्ष सुरेश पीसीले मोदी खोला, कालिमाटीको रमणीय डाँडा र बागलुङको भैरमथान मन्दिरसमेत देख्न सकिने बताए । गुफामा विभिन्न प्रजातिका २० हजार बढी चमेराको बासस्थान समेत रहेको उनले जानकारी दिए ।  

गुफा फेला पर्नुअघि यस ठाउँलाई अलपे भन्ने गरिन्थ्यो । त्यहाँ वरिपरि जान स्थानीय डर मान्ने गर्थे । वनको बीचमा चोरैतर्फ झाडीले ढाकिएको ओडारजस्तो दुलो देखिए पनि कोही छिर्ने आँट गर्न सक्दैनथे । ‘बौरबगरमा हाम्रा पुर्खाले दिनभरि खेत रोपेर बेलुका घर आउने क्रममा बान्नाचे चौतारोको डिलबाट खेततर्फ फर्केर हेर्दा सबै धानबाली नष्ट भएछ,’ ७४ वर्षीय षडानन्द पौडेलले हजुरबुवाबाट थाहा पाएको कुरा सुनाउँदै भने, 'झाँक्रीकहाँ हेराउन जाँदा अल्पेका देउताहरुलाई खाजा खानेबेला नचढाएकाले बालीमा समस्या आएको बताएछन् । गल्ती सुधार गरेपछि धानहरु जस्ताको त्यसतै भएछ ।’ 

उनले गुफालाई ६ अना जग्गा दान पनि गरेका छन् । गुफालाई प्रेमनारायण शर्मा अधिकारी, फणीन्द्र अधिकारी, हरिप्रसाद अधिकारी, मिम शर्मा लामिछाने, खगराज अधिकारी, अग्निधर अधिकारीका परिवारले पनि करिब तीन रोपनी बराबरको जग्गा दान गरेको अल्पेश्वर गुफा पर्यटकीय केन्द्रका सचिव रामचन्द्र लामिछानेले बताए । 

पहिलोपटक गुफा छिर्ने १६ जनाको समूहमा अल्पेश्वर गुफा पर्यटकीय केन्द्रका कोषाध्यक्ष बद्री शर्मा अधिकारी पनि थिए । थोरैथोरै दुरी गरेर १५ दिनजतिमा गुफा छिचोलेको उनी बताउँछन् । 

Who will protect the Alpeswar cave?

प्रकृतिक सम्पदालाई राज्यले नजर पुर्‍याउन नसक्दा अल्पेश्वर गुफाले चर्चा पाउन नसकेको स्थानीय राजबाबु पीसीले बताए । ‘स्थानीयबासीले सक्नेजति गरेका छन्, तर राज्यको मानसिकता भवन र बाटो निर्माणलाई मात्र विकास ठान्नेछ,’ उनले भने, ‘स्थानीय सरकारले होटलमा राख्ने केही कार्यक्रमलाई गुफामा राखेर पर्यटनको सन्देश दिन पनि त सकिन्छ नि ।’

गुफाभित्र अग्ला छाँगा र ताल छन् । बर्खायाममा छिर्न सकिँदैन । अहिले पनि गुफाको मध्ये भागभन्दा तल जान सक्ने अवस्था छैन । त्यहाँ राखिएका फलामका भर्‍याङ खिया लागेर जोखिमयुक्त बनेका छन् । बत्तीको व्यवस्था नहुँदा यहाँसम्म आउने पर्यटक गुफा प्रवेश गर्नबाट वञ्चित हुनुपरेको छ । 

ज्ञादीबाट  छिरेर मोदीखोलाको किनारमा निस्कन सकिने यस्तो किसिमको दोहोरो गुफा अन्त कहीँ नभएको स्थानीयको दाबी छ । कुश्माको दुई ठाउँ खरेहा र बडगाउँमा रहेका लामो तथा अग्लो झोलुंगे पुल तरेर १५ मिनेटमै गुफा पुग्न सकिन्छ । यहाँ साउनको प्रत्येक सोमबार, शिवरात्री, बालाचदुदर्शी लगायत हिन्दु धर्मसँग जोडिएका दिनहरुमा भक्तजनहरु आउने गरे पनि अन्य समय भने गुफा सुनसानजस्तै हुने गरेको छ । 

सुमनजंग सुमन कान्तिपुरका पर्वत संवाददाता हुन् । उनी समसामयिक विषयमा समाचार लेख्ने गर्छन् ।

Link copied successfully