नवलपरासी — एक साताअघिको हावाहुरीले विद्युतीय पोल ढाल्दा बिजुलीविहीन भएका दुर्गम बुलिङटार गाउँपालिकाका १२ घरधुरीमा विद्युत् आपूर्ति सुरु भएको छ ।
दुर्गम पहाडी बुलिङटार गाउँपालिकाका अध्यक्ष दीपेन्द्र सुनारीका अनुसार गत वैशाख ३१ र जेठ १ गतको हावाहुरीले त्यहाँको १,२ र ३ नम्बर वडाका १२ सय घर बिजुलीविहीन भएका थिए ।
सोमबार ढलेका पोल उठाएर ती सबै वडाका घरहरूमा विद्युत् आपूर्ति सुरु भएको हो । मंगलबार बिहानदेखि सबै घरमा विद्युत् आपूर्ति भएको सुनारीले बताए ।
वडा नम्बर–२ का वडाअध्यक्ष कमल वकावलका अनुसार पोल ढलेको स्थानबाट करिब ४१ किलोमिटर टाढा रहेको विद्युत् प्राधिकरण कावासोतीका कर्मचारी, ठेकेदार र स्थानीयको श्रमदानसमेत गरेर विद्युत आपूर्ति खुलाइएको हो । 'पहाडमा बिजुलीका पोल ढलेको खबर गरेको ७ दिनपछि बल्ल कर्मचारी आएर मजदुरलाई काम लगाएपछि बत्ति बल्यो,' उनले भने ।
पूर्वी नवलपरासीको तनहुसँग सिमाना जोडिएको दुर्गम पहाडी बुलिङटारमा कास्कीको लेखनाथ शाखाले विद्युत् सप्लाई गरेको छ । 'यहाँबाट लेखनाथ नगरपालिकाभन्दा कावासोती नजिक पर्छ पायक पनि कावासोती नै हो,' वकावलले भने, 'अब यहाँ हुने विद्युत् आपूर्तिका लागि कावासोती शाखाबाट व्यवस्था गर्न अनुरोध गरेर मंगलबार पत्राचार गरेको छु ।'
यहाँ बत्तिको महसुल तिर्नसमेत ४१ किलोमिटर टाढाको विद्युत् प्राधिकरण कावासोती शाखामा जानपर्ने बाध्यता छ । 'जान्नेहरुले मोबाइलबाट पनि महसुलको रकम भुक्तानी गर्न सुरु गरेका छन्,' वकावलले भने, 'इन्टरनेट र मोबाइल बैंकिंगको प्रयोग नगर्नेहरू मासिक महसुल बुझाउन कावासोती नै जान बाध्य छन् ।'
बुलिङटारमै विद्युत् कार्यालय नहुँदा सामान्य मर्मतसम्भारका लागि पनि करिब ४१ किलोमिटर टाढाको कावासोती विद्युत् कार्यालयमा धाउनपर्ने बाध्यता रहेको उनले सुनाए ।
