क्यूआर कोडबाटै बागलुङका प्रमुख ११ पर्यटकीय गन्तव्यको जानकारी
बागलुङ — भारतको अयोध्याबाट आएका बालकृष्ण आचार्य बागलुङको शालिग्राम संग्रहालय देखेर दंगै परे । उनले एक-दुईवटा शालिग्राम पुज्ने गरेकामा एकैठाउँ एक लाख १५ हजार शालिग्राम संग्रह गरेको देखेर अचम्मित भएको बताए ।
कालीगण्डकी नदीमा मात्रै पाइने शालिग्राम नदी दोहनले हराइरहेका बेला यहाँ भने संग्रह गरेर राखिएको छ । १ सय ५० मिटर लामो सुरुङभित्र सजाएर राखेको शालिग्राम हेर्न धेरै पर्यटक आउने गरेका छन् । भारतीय पर्यटक पनि यहाँ नियमित आउने गर्छन् । वर्षभरि डेढ लाख पर्यटक भित्रने संग्रहालयमा २० हजारभन्दा बढी भारतीय आउने गरेको व्यवस्थापन समितिको रेकर्ड छ ।
मुक्तिनाथ आएका पर्यटकमध्ये गाडी चढेर आउनेहरु धेरैजसो आएको संग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताए । ६ वर्षअघि संग्रहालय स्थापना गरिएको हो । भारतीय पर्यटकले बागलुङ कालिका र शालिग्रामको दर्शन गर्न चाहेको उनको भनाइ छ । उनका अनुसार समूहमा आएका पर्यटकलाई यहाँ भोजन र बस्ने व्यवस्थापनसमेत गरिएको छ । ७ देखि १० दिनको प्याकेज बनाएर घुम्न आउने भारतीय पर्यटकले एक दिनका लागि संग्रहालय र बागलुङ कालिका मन्दिरलाई गन्तव्य बनाउने गर्छन् ।
भारतको मायापुरबाट आएका माधव हरिदासले शालिग्राम संग्रहालय घुम्दा शान्ति मिलेको बताए । उनले संसारभर घुमेर पनि एक लाख शालिग्राम एकै स्थानमा दर्शन गर्न नपाएको भन्दै यो अवसर यहाँ आएर मिलेको बताए । भारतको केरला, आन्ध्र प्रदेश, गुजरात लगायतका स्थानबाट बढी भारतीय आउने गरेका हुन् ।
यो संग्रहालयका लागि सुरुङ निर्माणमा नेपाली सेनाले सहयोग गरेको थियो । संग्रहालयभित्र कालीगण्डकी नदीमा पाइनेबाहेक विभिन्न समुद्रमा पाइने सिपी र अन्य चट्टानको नमुना पनि संग्रह गरिएको छ । सुरुङभित्रै कालीगण्डकी नदी सभ्यता पनि बनाइएको छ । दामोदरकुण्डदेखि त्रिवेणीसम्मको ‘टोपोग्राफी’ बनाएर राखेपछि आन्तरिक र बाह्य पर्यटकका लागि यो आर्कषक गन्तव्य बनेको छ ।
‘हामीले पर्यटक भनेका छैनौं, भक्तजनहरु धेरै नै आउनुभएको छ,’ उनले भने, ‘आएका भक्तजनलाई सके एकरात राख्ने, नसके प्रसाद वितरण गरेर मात्रै बिदाइ गर्छौं ।’ संग्रहालयसँगै ७ करोड लागतमा रंगबैंकटेश्वर मुक्तिनारायण मन्दिर पनि बनेको छ । कलात्मक मन्दिर हेर्नका लागि समेत धेरै पर्यटक पुग्छन् ।
यो संग्रहालयभित्र छिर्न बाघको मुखाकृति बनाइएको छ । त्यसले पनि धेरैको ध्यान खिचेको हो । ‘बागलुङको पहिचान भएका केही तथ्यमध्ये बाघको पनि इतिहास देखियो, त्यसैले हामीले मुखाकृति बनाएका हौं,’ ऋषि प्रपन्नाचार्यले भने, ‘यो साहसको प्रतीक पनि हो ।’ यहाँ मुक्तिनाथ वेद विद्याश्रम पाठशालासमेत सञ्चालनमा छ । धार्मिक यात्रीले यहाँ आएर सबै क्षेत्रको अध्ययन र दर्शनसमेत गर्न पाउँछन् ।
भक्तजनको मागअनुसार नै संग्रहालयमा हालै ५ दिने शालिग्राम महोत्सव पनि सञ्चालन गरियो । उक्त अवसरमा १ सय ८ रामायण पाठ, शालिग्रामको पूजा र भजनकिर्तनका अभियान सञ्चालन भए ।
भारतबाट आउनेले जनकपुर, लुम्बिनी, पशुपति र मुक्तिनाथको यात्रा क्रममा शालिग्राम संग्रहालयलाई पनि प्राथमिकतामा पारेका हुन् । भक्तपुरका वरुणगोपाल श्रेष्ठले पहिलोपटक शालिग्रामको संग्रह देख्न पाएको भन्दै आफ्ना टोल छिमेकीलाई पनि घुम्न पठाउने बताए ।
यहाँ निर्माणाधीन पञ्चकोट, संसारकोट र कारीकोट लगायतका स्थानमा पनि पर्यटक आउने क्रम बढिरहेको छ । बागलुङ नगरपालिकाले आफ्नै पर्यटन नारा, लोगो र महत्वपूर्ण गन्तव्यलाई क्यूआर कोडमा समावेश गरेको छ । पर्यटन दिवसका अवसरमा नारा र लोगो सार्वजनिक गरेको हो भने मुख्य गन्तव्यलाई क्यूआरमा राखेको हो । क्यूआरमार्फत जानकारी लिएर पनि कतिपय पर्यटक आउन थालेका हुन् ।
त्यसबाहेक नगर पर्यटन गुरुयोजनाको पनि तयारी भइरहेको छ । पर्यटन पुस्तिका र वृत्तचित्र तयार गर्ने काम समेत थालिएको नगरपालिकाको भनाइ छ । प्रमुख ११ वटा गन्तव्यको क्यूआर कोड बनेपछि पर्यटकले मोबाइलबाटै ती स्थानबारे जान्न पाएका छन् । बागलुङ कालिका, शालिग्राम संग्रहालय, पञ्चकोट, भैरवस्थान, लामो झोलुंगे पुल, मालिका, भकुण्डे, कालीगण्डकी, बञ्जीजम्प र इस्कोन लगायतका स्थानलाई क्यूआरमा पनि राखिएको छ ।
