शालिग्राम संग्रहालयमा आन्तरिक र भारतीय पर्यटक बढ्दै

क्यूआर कोडबाटै बागलुङका प्रमुख ११ पर्यटकीय गन्तव्यको जानकारी

जेष्ठ ३, २०८२

प्रकाश बराल

Increasing domestic and Indian tourists to Shaligram Museum

बागलुङ — भारतको अयोध्याबाट आएका बालकृष्ण आचार्य बागलुङको शालिग्राम संग्रहालय देखेर दंगै परे । उनले एक-दुईवटा शालिग्राम पुज्ने गरेकामा एकैठाउँ एक लाख १५ हजार शालिग्राम संग्रह गरेको देखेर अचम्मित भएको बताए ।

कालीगण्डकी नदीमा मात्रै पाइने शालिग्राम नदी दोहनले हराइरहेका बेला यहाँ भने संग्रह गरेर राखिएको छ । १ सय ५० मिटर लामो सुरुङभित्र सजाएर राखेको शालिग्राम हेर्न धेरै पर्यटक आउने गरेका छन् । भारतीय पर्यटक पनि यहाँ नियमित आउने गर्छन् । वर्षभरि डेढ लाख पर्यटक भित्रने संग्रहालयमा २० हजारभन्दा बढी भारतीय आउने गरेको व्यवस्थापन समितिको रेकर्ड छ ।

मुक्तिनाथ आएका पर्यटकमध्ये गाडी चढेर आउनेहरु धेरैजसो आएको संग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताए । ६ वर्षअघि संग्रहालय स्थापना गरिएको  हो । भारतीय पर्यटकले बागलुङ कालिका र शालिग्रामको दर्शन गर्न चाहेको उनको भनाइ छ । उनका अनुसार समूहमा आएका पर्यटकलाई यहाँ भोजन र बस्ने व्यवस्थापनसमेत गरिएको छ । ७ देखि १० दिनको प्याकेज बनाएर घुम्न आउने भारतीय पर्यटकले एक दिनका लागि संग्रहालय र बागलुङ कालिका मन्दिरलाई गन्तव्य बनाउने गर्छन् ।

भारतको मायापुरबाट आएका माधव हरिदासले शालिग्राम संग्रहालय घुम्दा शान्ति मिलेको बताए । उनले संसारभर घुमेर पनि एक लाख शालिग्राम एकै स्थानमा दर्शन गर्न नपाएको भन्दै यो अवसर यहाँ आएर मिलेको बताए । भारतको केरला, आन्ध्र प्रदेश, गुजरात लगायतका स्थानबाट बढी भारतीय आउने गरेका हुन् ।

यो संग्रहालयका लागि सुरुङ निर्माणमा नेपाली सेनाले सहयोग गरेको थियो । संग्रहालयभित्र कालीगण्डकी नदीमा पाइनेबाहेक विभिन्न समुद्रमा पाइने सिपी र अन्य चट्टानको नमुना पनि संग्रह गरिएको छ । सुरुङभित्रै कालीगण्डकी नदी सभ्यता पनि बनाइएको छ । दामोदरकुण्डदेखि त्रिवेणीसम्मको ‘टोपोग्राफी’ बनाएर राखेपछि आन्तरिक र बाह्य पर्यटकका लागि यो आर्कषक गन्तव्य बनेको छ ।

Increasing domestic and Indian tourists to Shaligram Museum

‘हामीले पर्यटक भनेका छैनौं, भक्तजनहरु धेरै नै आउनुभएको छ,’ उनले भने, ‘आएका भक्तजनलाई सके एकरात राख्ने, नसके प्रसाद वितरण गरेर मात्रै बिदाइ गर्छौं ।’ संग्रहालयसँगै ७ करोड लागतमा रंगबैंकटेश्वर मुक्तिनारायण मन्दिर पनि बनेको छ । कलात्मक मन्दिर हेर्नका लागि समेत धेरै पर्यटक पुग्छन् । 

यो संग्रहालयभित्र छिर्न बाघको मुखाकृति बनाइएको छ । त्यसले पनि धेरैको ध्यान खिचेको हो । ‘बागलुङको पहिचान भएका केही तथ्यमध्ये बाघको पनि इतिहास देखियो, त्यसैले हामीले  मुखाकृति बनाएका हौं,’ ऋषि प्रपन्नाचार्यले भने, ‘यो साहसको प्रतीक पनि हो ।’ यहाँ मुक्तिनाथ वेद विद्याश्रम पाठशालासमेत सञ्चालनमा छ । धार्मिक यात्रीले यहाँ आएर सबै क्षेत्रको अध्ययन र दर्शनसमेत गर्न पाउँछन् ।

भक्तजनको मागअनुसार नै संग्रहालयमा हालै  ५ दिने शालिग्राम महोत्सव पनि सञ्चालन गरियो । उक्त अवसरमा १ सय ८ रामायण पाठ, शालिग्रामको पूजा र भजनकिर्तनका अभियान सञ्चालन भए । 

भारतबाट आउनेले जनकपुर, लुम्बिनी, पशुपति र मुक्तिनाथको यात्रा क्रममा शालिग्राम संग्रहालयलाई पनि प्राथमिकतामा पारेका हुन् । भक्तपुरका वरुणगोपाल श्रेष्ठले पहिलोपटक शालिग्रामको संग्रह देख्न पाएको भन्दै आफ्ना टोल छिमेकीलाई पनि घुम्न पठाउने बताए । 

यहाँ निर्माणाधीन पञ्चकोट, संसारकोट र कारीकोट लगायतका स्थानमा पनि पर्यटक आउने क्रम बढिरहेको छ । बागलुङ नगरपालिकाले आफ्नै पर्यटन नारा, लोगो र महत्वपूर्ण गन्तव्यलाई क्यूआर कोडमा समावेश गरेको छ । पर्यटन दिवसका अवसरमा नारा र लोगो सार्वजनिक गरेको हो भने मुख्य गन्तव्यलाई क्यूआरमा राखेको हो । क्यूआरमार्फत जानकारी लिएर पनि कतिपय पर्यटक आउन थालेका हुन् ।

त्यसबाहेक नगर पर्यटन गुरुयोजनाको पनि तयारी भइरहेको छ । पर्यटन पुस्तिका र वृत्तचित्र तयार गर्ने काम समेत थालिएको नगरपालिकाको भनाइ छ । प्रमुख ११ वटा गन्तव्यको क्यूआर कोड बनेपछि पर्यटकले मोबाइलबाटै ती स्थानबारे जान्न पाएका छन् । बागलुङ कालिका, शालिग्राम संग्रहालय, पञ्चकोट, भैरवस्थान, लामो झोलुंगे पुल, मालिका, भकुण्डे, कालीगण्डकी, बञ्जीजम्प र इस्कोन लगायतका स्थानलाई क्यूआरमा पनि राखिएको छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully