कास्की — लमजुङमा कांग्रेसनिकट युवा संगठन तरुण दलको जिल्ला अधिवेशनमा दुई पक्षबीच खुकुरी हानाहान भएको छ ।
सदरमुकाम बेंसीसहरमा शनिबार आयोजित पाँचौं जिल्ला अधिवेशन उद्घाटन सत्रको क्रममा विवाद हुँदा खुकुरी प्रहार भएको हो । घटनामा ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीले जानकारी दिए ।
बेंसीसहर नगरपालिका–९ का वडाध्यक्षसमेत रहेका तरुण दल क्षेत्रीय सभापति खुसीजंग गुरुङ, पार्टी जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेविसंघ केन्द्रीय सदस्य सुदीप अधिकारी, तरुण दलकै शंकर सापकोटा र धन घले घाइते भएका हुन् । घाइते गुरुङलाई काठमाडौं र अधिकारीलाई भरतपुर रेफर गरिएको छ ।
टाउकोमा चोट लागेको र सीटीस्क्यान गर्नुपर्ने भएपछि उनीहरूलाई थप उपचारका लागि रेफर गरिएको हो । बाँकी ३ जना प्रादेशिक अस्पताल लमजुङमा सामान्य उपचारपछि डिस्चार्ज भएको प्रहरी निरीक्षक तेलीले बताए ।
जिल्लाको संस्थापन र इतर पक्षबीच पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोटको विषयमा विवाद हुँदा खुकुरी प्रहारसम्मको अवस्था पैदा भएको हो । पार्टी जिल्ला सभापतिसमेत रहेका गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री टकराज गुरुङ पक्षधरले पार्टी पूर्वसभापति एवं प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेल पक्षका युवालाई खुकुरी प्रहार गरेका हुन् ।
पूर्णकालीन सदस्यता वितरणमा धाँधली भएको, प्रतिनिधि छनोटमा मनोमानी गरेको भन्दै इतर समूहका युवाले अधिवेशनको मञ्चअगाडि उभिएर विरोध गरेका थिए । उनीहरूले अधिवेशन स्थगित गर्न माग गरेका थिए । त्यसपछि संस्थापन पक्षका युवाले इतर समूहलाई कुर्सी प्रहार गरे । इतर समूहका युवा भाग्दा अधिवेशन स्थल बाहिर खुकुरी प्रहार भएको हो ।
अधिवेशनलाई सम्बोधन गर्दै तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गुरुङले घटनाको विषयमा लमजुङका पार्टी नेतासँग बसेर टुंगो लगाउने बताए । आफूहरु अधिवेशन गराएरमात्र फर्कने उनले सुनाए । ‘सहमतिबाट होस्, संवादबाट होस् या भोटिङबाट होस् लमजुङ तरुण दलको अधिवेशन टुंगाएर जानेछौं,’ उनले भने । यसपछि उनले अधिवेशन जेठ १० सम्म स्थगित गरिएको जानकारी गराए ।
