नवीन पौडेल — गण्डकी प्रदेशमा रेबिज खोपको अभाव भएको छ । विशेष गरेर कुकुरले टोकेपछि लगाइने यो खोप जिल्लाका सरकारी स्वास्थ्य संस्थामा एक महिनादेखि अभाव भएको हो । जसका कारण बिरामीले निजी स्वास्थ्य संस्थामा गएर महँगो शुल्क तिरेर खोप लगाउनु पर्ने बाध्यता छ ।
जिल्ला अस्पतालसहित ८ वटा स्थानीय तहका स्वास्थ्य केन्द्रबाट खोप लगाउने गरिएको छ । तर खोप अभावमा दुर्गम भेगका बिरामी सदरमुकाम र चितवनसम्मका स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता रहेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक डा. रमेशकुमार केसीका अनुसार इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँबाट प्रदेशमा खोप आपूर्ति हुने भएकाले केन्द्रबाट प्रदेशमा खोप उपलब्ध नहुँदा जिल्लामा पनि अभाव भएको बताए । ‘एक महिनादेखि रेबिजको खोप अभाव रहेको छ । केही दिन अगाडि एक हजार भाइल खोप आएको र जिल्ला जिल्लामा पठाएको भएपनि एक हप्तालाई पनि खोप पुगेन,’ उनले भने,‘आइतबार करिब एक हजार भाइल खोप प्रदेशमा आउने जानकारी पाएका छौँ । प्रदेशले पनि आफ्नै बजेटबाट तत्कालका लागि बजेटको स्रोत जुटाएर खोप खरिद गर्ने तयारी गर्दैछौँ ।’
प्रदेशमा अघिल्लो वर्ष २० हजार भाइल रेबिज विरुद्धको खोप आपूर्ति भएको थियो । माग कति हुन्छ भन्ने यकिन नहुँदा समय समयमा खोप अभाव हुँदै आएको स्वास्थ्य मन्त्रालयको दाबी छ । पूर्वी नवलपरासीमा मात्र चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा कुकुरले टोकेका करिब तीन हजार ७ जना बिरामी थिए भने अन्य जनावरले टोकेका एक हजार दुई सय बिरामी स्वास्थ्य संस्थामा उपचारका लागि आएको तथ्यांक छ । मुख्य बजार र सहरी क्षेत्रमा निजी स्वास्थ्य संस्थामा खोप लगाउने सुविधा भएपनि जिल्लाको बौदीकाली, बुलिङ्टार, हुप्सेकोट र विनय त्रिवेणी गाउँपालिकाको पहाडी भेगमा स्थानीयलाई खोप लगाउन घन्टौँ लगाएर सदरमुकाम वा जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।
