गत जेठमा लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि जग खन्ने क्रममा पुरानो इँट्टासहितको संरचनाको भग्नावशेष भेटिएपछि पुरातत्व विभागले अध्ययन थालेको हो ।
गोरखा — गोरखा नगरपालिका-१० छेवेटारस्थित महादेवटारीमा गत वर्ष जेठमा भेटिएका भग्नावशेष १७औं शताब्दीतिर बनेको मन्दिरको भएको अनुमान गरिएको छ । गत जेठमा लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि जग खन्ने क्रममा पुरानो इँट्टासहितको संरचनाको भग्नावशेष भेटिएको थियो ।
इँटा र पुरानो संरचनाको गाह्रोसहितको भग्नावशेष भेटिएपछि काम रोकेर महादेवस्थन संरक्षण तथा विकास समितिले पुरातत्व विभागलाई जानकारी गराएको थियो ।
पुरात्व विभागको टोलीले १० दिन लगाएर भग्नावशेषको अध्ययन गरिरहेको छ । १७ औं वा १८ औं शताब्दीमा बनेको मन्दिरको भग्नावशेष रहेको प्रारभ्भिक अध्ययनले देखाएको पुरात्व विभागबाट अध्ययनमा आएका नवराज अधिकारीले बताए ।
‘पुरातात्विक महत्त्व राख्ने भग्नावशेष हो, जग हेर्दा ७० सेन्टिमिटर गाह्रोको चौडा छ,’ उनले भने,‘दुई तलाको मन्दिर हुनुपर्छ भन्ने हाम्रो अनुमान हो, यसै क्षेत्रको राम मन्दिर भएतर्फ पनि संरचनाको केही भाग घुसेको देखिन्छ, ती गारोका भागहरू पनि उत्खनन् गरेर अध्ययन गरेपछि संरचनाको वारेमा अझै धेरै कुरा थाहा हुन्छ ।’
गत वर्ष जेठमा लट्टेश्वर महादेवको मन्दिर पुनर्निर्माणका लागि जग खन्ने क्रममा दक्षिण पूर्वी भागमा रहेको पिपलको जरा उप्काउने क्रममा वर्षौं पुराना इँटा भेटिएका थिए । पिपलको जरामा इँटा र मन्दिर पुनर्निर्माणका लागि जग खन्ने क्रममा गारोसहितको पुरानो भग्नावशेष भेटिएपछि पुरातत्व विभागले अध्ययन थालेको हो । अध्ययन अझै बाँकी रहेको अधिकारीले बताए ।
‘ढुङ्गा अलि कम, इँटा र झिँगटीको छाना भएको माटोको जोडाइबाट बनेको मन्दिर हुन सक्छ, केही झिँगटीका टुक्रा पनि फेला परेका छौं,’ उनले भने,‘विस्तृत अध्ययनबिना अहिले नै यकिन गर्न भने सकिँदैन ।’
सबै अध्ययन तत्काल सकिने खालको नरहेको उनले सुनाए । सबै अध्ययन सकिएपछि मात्र यसको संरक्षण कसरी गर्ने भन्नेबारे पुरातत्व विभागले निर्णय लिन्छ,’ उनले भने,‘अहिले घाम पानी, हावाहुरी र मानवीय क्रियाकलापबाट प्रमाण नष्ट नहोस भनेर छोपेरर छाड्छौँ, अध्ययन सकिएपछि के गर्ने कुन मोडालिटीमा संरक्षण गर्ने निर्णय हुन्छ ।’ अहिले उत्खनन् मात्र भएको र विभागबाट अध्ययनका लागि १० दिनको कार्यादेश पाएको उनले बताए ।
प्राचीन स्मारक संरक्षण ऐन-२०१३ का अनुसार एक सय वर्ष पुराना संरचना पुरातात्विक मानिन्छ । १७/१८ औं शताब्तीतिर बनेको संरचना भएको अनुमानका आधारमा पनि पुरातत्व विभागले विशेष प्राथमिकतामा राखेर अध्ययन थालेको हो । २०३० सालमा बनेको लट्टेश्वर महादेवको मन्दिर जीर्ण बनेपछि पुनर्निर्माणका क्रममा पुरानो भग्नावशेष भेटिएको महादेवस्थान संरक्षण तथा विकास समितिका अध्यक्ष कमल पोखरेलले बताए ।
