बागलुङ — गलकोट नगरपालिकाले नगर अस्पतालमा रक्तसञ्चार सेवा सञ्चालनमा ल्याएको छ । शल्यक्रिया पनि सुरु गरिएकाले यहाँ रक्तसञ्चार सेवा आवश्यक बन्दै गएको थियो ।
गम्भीर दुर्घटनाका बिरामी, प्रसूति र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई रगत अभाव हुन थालेपछि अस्पताल प्रमुख डा. राजेश पौडेलले देशविदेशमा बस्ने स्थानीयमा सहकार्य बढाएका थिए । नगरपालिकाले पनि केही बजेट विनियोजन गरेपछि श्रीपाली बस्नेत समाज, रेडक्रस सोसाइटी जिल्ला शाखासमेत मिलेर रक्तसञ्चार सेवा सञ्चालनमा ल्याइएको हो । रेडक्रस जिल्ला शाखाले गलकोट युनिटका रुपमा यहाँ रक्तसञ्चार सेवा दिने भएको पौडेलले जानकारी दिए ।
नगरप्रमुख भरत शर्मा गैरेले रेडक्रसलाई केन्द्र हस्तान्तरण गरेको बताए । झन्डै १४ लाख लागतमा दाताले यहाँ उपकरण र सामग्री सहयोग गरेका छन् भने नगरपालिले अस्पतालमा रक्तसञ्चारकालगि १५ लाख लागतमा पूर्वाधार निर्माण गरेको थियो । ‘ग्रामीण क्षेत्रमै नगर अस्पताल सञ्चालनमा आउँदा धेरैको ज्यान बचाउन सकिएको छ, त्यसैले अत्वावस्यक रक्तसञ्चारमा पनि सानो सहयोग गरेका हौं,’ स्थानीय देवेन्द्रसिंह बस्नेतले भने, ‘रगतकै अभावले बिरामी रिफर गर्न नपरोस् भन्ने चाहेका छौं ।’ अस्पतालमा अप्रेसन सेवा सञ्चालन भए पनि रगत दिनुपर्ने अवस्थाकालाई रिफर गर्नुपरेको थियो ।
तत्कालित प्राथमिक स्वास्थ्य केन्द्रलाई जग्गा र भवनको व्यवस्थापन गरेर यहाँ तीन वर्षदेखि १५ बेडको अस्पताल सञ्चालनमा आएको हो । अस्पतालमा भिडियो एक्सरे, अल्ट्रसाउन्ड, ल्याब, ओपीडी, सुत्केरी सेवासहित पोस्टमार्टम सेवा सञ्चालनमा छ । फिजियोथेरापी, आँखा उपचार केन्द्रसमेत सञ्चालनमा आएपछि ग्रामीण क्षेत्रका बासिन्दाले पनि सहज सेवा पाएका छन् ।
हाल अस्पतालकै जनशक्तिबाट काम चलाएर आगामी आर्थिक वर्ष नयाँ कर्मचारी भर्ना गर्ने तयारी गरेको नगरप्रमुख गैरेले जानकारी दिए । अस्पतालको सेवालाई प्रभावकारी बनाउन नगरपालिकाले एम्बुलेन्स सेवा पनि सञ्चालनमा ल्याएको छ ।
