बागलुङ — गोविन्द अदै ५२ वर्षका भए। बीस वर्ष भयो उनी चाडपर्वमा पालो गरेर मात्र घर पुग्छन्। उनको अरू समय भेडी गोठमै बित्छ। जाडो छल्न औल झरेका अदै यति बेला ढोरपाटन उक्लदैछन्। डोकोमा खाद्यान्न सामग्री, भाँडाकुँडा, ओढ्ने काम्लो र बख्खु बोकेर कुकुरसहित भेडा डोर्याएका उनका पछिपछि २ सय भेडाको बथान छ।
वैशाख लागेदेखि निरन्तर जसो पानी परिरहेकाले ढिलो गरी लेक चढ्न सुरु गरेको उनले सुनाए । गर्मी सिजनमा ढोरपाटन र बुकीपाटन पुग्ने उनी तारा खोलाको नागबेली, म्याग्दीको रुमसम्म झर्छन् । अत्यधिक हिउँ पर्दा गलकोटसम्म पुग्छन् ।
यो वर्ष हिउँ नपरेपछि उनीहरूले गलकोट झर्नु परेन । तर वैशाख महिनाभर उनीहरू तारा खोला, नागबेलीलगायतको खर्कमा बसे । भेडाको बथान लिएर उनी लेकबेंसी गरेरै वर्षौँदेखि जीवन चलाएका छन् । भेडा पालनबाटै उनले वर्षमा झन्डै १० लाख कमाइ गरिरहेका छन् । त्यसैले उनको अन्य पेसामा कतै चासो छैन । तीन छोरा, एक छोरी र पत्नीसहितको घर धान्नलाई उनको मुख्य पेसा नै भेडा पालन हो ।
ढोरपाटन नगरपालिका–६ का अदैले ३० वर्षदेखि घुमन्ते जीवन बिताइरहेका छन् । पहिलो १० वर्ष मामाको गोठमा र २० वर्षयता आफ्नै भेडाको बथान लिएर घुमन्ते जीवन बिताएका हुन् । अदैको मामाघर नजिकै छ । सानैदेखि मामाको घरमा गइरहन्थे । मामा खुमबहादुर भण्डारीसँगै भेडा चराउन धेरै पटक हिँडे । सानैमा धेरै पटक ढोरपाटन र बुकीपाटन आउजाउ भइरहन्थ्यो । त्यही प्रेरणाले उनी भेडी गोठाले बनेका हुन् ।
उनको यो दैनिकी आफ्नै रोजाइ हो । दशकसम्म मामाको भेडी गोठमा काम गरेका अदैले २० वर्षदेखि आफ्नै भेडाको बथान पालेका छन् । सुरुमा २५ वटा भेडाबाट सुरु गरेको उनको पेसा अहिले २ सय भेडामा पुगेको छ । उनको बथानमा अहिले ४ वर्ष कटेका ६ वटा साँड छन् भने तीन वर्षमुनिका ३० वटा छन् ।
अरू सबै भेडा हुन्। विशेषगरी चाडपर्वमा उनको बथानबाट साँड बिक्री हुन्छ । त्यसैले एक/डेढ बर्षअघिदेखिनै साँडको जोहो गर्नुपर्छ । उनले एउटा साँड ४० हजार रुपैयाँसम्म बिक्री गरेको बताए । जनै पूर्णिमामा ढोरबराहमा बली दिनेले धेरै साँढ खोज्छन् भने अन्य पूजा कालागि ढोरपाटन आसपासका बासिन्दाले भेडाकै बली दिन्छन् ।
भेडा चराउने काममा ढोरपाटन आसपासका सयौँ किसान आबद्ध छन् । केहीले १०/२० वटा मात्रै पालेका छन् भने १ सय देखि ४ सयसम्म भेडा पाल्ने किसान ५० भन्दा बढी छन् । उनीहरूले वैशाखसम्म ढोरपाटन उपत्यकामै पशु चराउने गर्छन् भने जेठ, असार, साउन र भदौ बुकीमा लैजान्छन् । ३ हजार मिटरको ढोरपाटन भन्दा बुकीपाटन अग्लो छ । ४ हजार मिटर देखि ४ हजार ५ सयसम्मको स्थानमा अस्थायी गोठ बनाएर किसानले भेडा चराउने गर्छन् ।
अदैका तीन भाइ छोरा यही पेसामा छन् । जेठो प्रेम, माइलो युवराज र साइँलो देवेन्द्र बाबुसँगै गोठमा बस्छन् । कान्छो डाइमण्ड र पत्नी भीमकुमारी घरमा छन् । बेलाबेला माइलो छोरा युवराज खाने खर्च लिन घर आउँछन् । छिमेकमा मर्दापर्दा र चाडपर्वमा भने गोविन्द पनि घर आउँछन् । छोराहरूले आधारभूत तहको पढाइ पछि विद्यालय छाडेर बाबुकै पेसामा साथ दिएका छन् ।
त्यसैले अदैले अरू कामदार राख्नु परेको छैन । उनी प्राय भेडा छाड्दैनन् । चितुवाको डर हुने भएकोले उनले भेडा नछाडी चराउने गरेको बताए । त्यसो त उनको चार वटा भोटे कुकुर पनि छन् । ती कुकुरले भेडाको रक्षा गर्छन् । रातमा चितुवाले उनको भेडी गोठमा कहिले पनि आक्रमण गरेको छैन । चार वटा कुकुरले घेरा हालेर कुर्ने भएकोले रातमा समस्या नभएको उनले बताए ।
बरु उनका भेडा दिउसोमा चितुवाले खाइदिएको छ । दिउसोमा कुकुर कम चनाखो बन्ने, अलगअलग बाँधेर खाना दिने भएकोले चितुवाले त्यही मौका छोपेको बताए । ‘चैतमा मेरो एउटा २० हजार पर्ने भेडी किराले खाइदियो,’ उनले भने, ‘कुकुर नभएको मौकामा चितुवा सक्रिय हुन्छ ।’ उनका कुकुरले भेडा नजिक गएमा मानिसलाईपनि आक्रमण गर्छन् । त्यसैले जो पायो त्यही नजिकमा आउन समेत सक्दैनन् ।
भोटे कुकुरले एउटा समूहका भेडा अर्को समूहमा पनि मिसिन नदिएको उनले बताए । ‘धेरैजसो एउटा बथानका भेडा आफ्नै समूहमा चर्छन् त्यसैले हराउने र साटिने डर छैन,’ उनले भने,‘चर्दै मिसिन खोजे कुकुरले नै फर्काएर बथानमा ल्याउँछन् ।’
ठाउँ सार्नु परे भेडा धपाउनै पर्दैन भन्छन् गोविन्द । चार वटामध्ये मूल कुकुर डोर्याएपछि चरिरहेका भेडा पछिपछि लाग्ने उनले सुनाए । ‘हामीले झोला बिसाएको देखेर चर्न थाल्छन्, झोला बोकेपछि पछि लाग्छन्’ उनले भने, ‘भेडाहरू एकोहोरो हुन्छन्, त्यसैले हामीले अगुवाइ गरेपछि पछि लाग्ने नै भए ।’
भेडालाई महिनाको दुई पटक नुन खान दिनुपर्छ । नत्र मोटोघाटो बन्दैनन् । अस्वस्थ्य र लुरे हुन्छन् । नुन खुवाउन पानीको स्रोत भएको स्थानमा लगेपछि ढुंगामा नुन छरेर राखिदिन्छन् । भेडाले चाहे जति खान्छन् । त्यसपछि पानी खाएर फर्कन्छन् । भेडालाई बेलाबेला औषधि, उपचार पनि चाहिन्छ । गर्मीमा बेसी झर्दा चरन अभाव हुन्छ । गर्मीले सताउँछ । त्यति बेला रौँ काटिदिने, कोदोको नल वा गहुँको छ्वाली संकलन गरेर खुवाउने काम पनि गर्नुपर्छ ।
त्यति बेला खर्च बढी लाग्छ । रौँबाट ऊन कात्न सकिन्छ । त्यसैले यहाँका किसानको घरघरमा काम्लो बुन्ने चलन पनि छ । कतिपयले त नियमित काम्लो बुनेर कमाइ पनि गरिरहेका छन् । भेडा चराउनेले १५ दिनदेखि १ महिनासम्मलाई खान पुग्ने अन्न वा खानेकुरा बोकेरै हिँड्नुपर्छ । बख्खु र काम्लो, छाता र प्लास्टिक तथा एक/दुई वटा भाँडा समेत डोकोमा बोकेर हिँड्छन् । हिँड्दै जाँदा जहाँ रात पर्यो त्यही पकाएर खाने, सुत्ने गर्छन् ।
बुकीमा पुग्दा छाप्रो बनाएर धेरै जना सँगै बस्ने गरेको अर्का भेडी गोठाले रासबहादुर गुरुङले बताए । रुकुमको भूमे गाउँपालिका–१ लुकुम गाउँका गुरुङ बागलुङ सिमानाको पाती हाल्ने हुँदै ढोरपाटन र बुकीसम्म पुग्छन् । रुकुमको चुङग्री लेकमा पनि उनीहरूले भेडा चराउने गरेको बताए । चिसो बढ्दै जाँदा औल झर्ने, गर्मी बढेपछि लेक चढ्ने उनीहरूको नियमित काम हो ।
भेडा बाख्रामा पिपिआर र खोरेतको बढी समस्या हुन्छ । त्यसैले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ढोरपाटनमै पुगेर भेडा बाख्राको बथानमा खोप लगाएको छ । पशु प्राविधिक केशव शर्माका अनुसार चालु वर्ष ढोरपाटनका मात्रै १० हजार ५ सय ५६ भेडा र १० हजार ५ सय ७९ बाख्रामा पिपिआर खोप लगाइएको हो ।
गोठकै रूपमा ढोरपाटन र बुकी सम्म लैजाने तमानखोलाका २ हजार ५ सय २७ बाख्रा र २ हजार १ सय १७ भेडा तथा निसीखोलाका ११ हजार ७ सय १५ बाख्रा र ५ हजार ११ भेडामा खोप लगाइसकिएको हो ।
कार्यालयका प्रमुख डा. ऋषिराम सापकोटाले बेलाबेला भेडा बाख्राको स्वास्थ्य शिविर नै राख्ने गरेको बताउँछन् । ‘आयआर्जन कालागि धेरै किसान बाख्रा र भेडा पालनमा छन्, त्यसैले शिविर राख्छौँ’ सापकोटाले भने, ‘बेलाबेला आउने रोगबाट भेडा बाख्रा मरे भने किसानको लाखौँ लगानी डुब्छ ।’
पछिल्लो एक दशक देखि भने बागलुङका भेडा बाख्रामा खोरेत लगायतको रोग देखा परेको छैन । जसका कारण मासु निर्यात गर्ने सरकारी लक्ष्यमा बागलुङका भेडा बाख्रा र अन्य चौपाया समेत रोजाइमा परेका छन् ।
बागलुङलाई पशु चौपायामा लाग्ने रोग फ्री जिल्ला बनाउने अभियान पनि चलिरहेको छ । अहिले जिल्लाभित्र रहेका २ लाख ५० हजार पशु चौपायामा कुनै पनि रोग नभेटिएको पौडेलले जानकारी दिए । ‘रोग फ्री’ जिल्ला घोषणा भयो भने बागलुङमा पशु चौपायाको ‘मेगा वधशाला’ बनाएर निर्यात गर्ने योजना उनले सुनाए । ‘कोरला नाकाबाट नजिकको जिल्ला र रोग फ्री भएकाले छिटै मासु निर्यात गर्न सकिन्छ,’ पौडेलले भने, ‘त्यसकालागि बागलुङमा पाडा पाडी बिस्तार अभियान पनि चलेको छ ।’
स्थानीय तह र भेटेरिनरी अस्पताल समेतको अगुवाइमा ३० महिनाभित्रका पाडा पाडी बढाएर मासु कालागि योग्य बनाउन लागेको उनले बताए । खसी बोका भए जिउँदै र पाडा पाडी भए मासु उत्पादन गरेर निर्यात गर्न सकिने गरी अस्पतालले तयारी समेत गरेको हो ।
