हाँडीकोटलाई पर्यटकीय गन्तव्य बनाउन थप कार्यक्रम

वैशाख ३०, २०८२

प्रकाश बराल

More programs to make Handikot a tourist destination

What you should know

बागलुङ — जैमिनी नगरपालिका-१० को हाँडीकोटलाई पर्यटकीय गन्तव्य बनाउन पालिकाले थप प्रवर्द्धनका कार्यक्रमलाई अघि बढाएको छ ।

समुद्र सतहतदेखि २ हजार १ सय ९५ मिटर उचाइमा रहेको यो डाँडामा गण्डकी प्रदेश सरकार र नगरपालिकाले धेरै लगानी गरिसकेका छन् । यहाँ तीनतले भ्युटावर पनि बनेको छ । टापुसम्म सडक खुलाइएको छ । सवारीसाधन चढेर पनि पुग्न सकिने भएकाले पर्यटकहरु जाने क्रम बढेको छ । 

‘पहिला पैदल जानुपर्थ्यो, अहिले त गाडी चढेर पनि पुगिन्छ,’ वडा नं १० का अध्यक्ष श्रीप्रसाद थापाले भने, ‘स्तरीय सडक बनाउन पहल भइरहेको छ ।’ कुश्मीसेरा नाम्दुक हुँदै बरेङ जाने सडकको केही खण्ड कालोपत्र भइसकेकाले डाँडाखानीदेखिको झन्डै ५ किमि सडक स्तरीय बनाउन सके पर्यटक धेरै लैजान सकिने उनले बताए । 

बिहाडथलादेखि पदमार्गबाट पनि हाँडीकोट जोडिएको छ । तीन-चार वर्षको बजेटबाट झन्डै ५० लाख लगानी गरेर एक किमि पदमार्ग बनिसकेको छ । त्यसबाहेक थप ५ सय मिटर सिँढी बनाउन बाँकी छ । वडा, नगर र प्रदेशको बजेटले यहाँ भ्युटावर निर्माण भइसकेको छ । 

जैमिनी नगरपालिकाका योजना शाखा प्रमुख प्रेम सापकोटाका अनुसार २०७५/०७६ देखि सानो लगानीमा थालिएको हाँडीकोटको पूर्वाधारमा अहिलेसम्म २ करोडभन्दा बढी लगानी भएको छ । यहाँ सत्तल, घेराबार र केही शिलालेख समेत राख्ने लक्ष्य छ । खानेपानीको अभाव भएकाले व्यवस्थापन गर्ने नगरको योजनामा उल्लेख छ । 

हाँडीकोटबाट दक्षिणमा गुल्मी, पूर्वमा पर्वत, उत्तरतर्फ धौलागिरि र अन्नपूर्ण हिमाली शृंखला, देखिन्छ । हाँडीकोट उक्लेर रमाउने, वनभोज खाने र प्राकृतिक दृश्यावलोकन गर्नेको आजकल भिडसमेत लाग्न थालेको छ । हरेक फागुपूर्णिमामा यहाँ मेला लाग्छ । हाँडीकोटमा अवस्थित देवीको पूजा गरेर भेडाको बलि दिने चलन छ । स्थानीय मगर समुदायले सोही दिन कुल पूजा पनि गर्छन् ।

भुरेटाकुरे राज्यको स्थल भएकाले यहाँ देवी पुज्ने, बलि दिने र पुराना हातहतियारको संग्रह गरिएको स्थानीय लालबहादुर पुनले बताए । पछिल्लो समय हिमाल हेर्ने, उचाइमा पुगेर सूर्योदयको दृश्यापलोकन गर्ने पर्यटक बढेका छन् ।

यो ऐतिहासिक र धार्मिक स्थल समेत हो । यहाँको पूर्वतर्फ थन्थापमाईको प्रसिद्ध मन्दिर छ । यहाँ पनि पुरातात्विक महत्वका वस्तु भेटिएकाले संरक्षण प्रयास भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । 

More programs to make Handikot a tourist destination

भुरेटाकुरे राजारजौटाले प्रयोग गरेका हातहतियार र नापतौलका सामग्री संग्रह गरेर राखिएको छ । ‘खोज र अनुसन्धान हुन बाँकी नै छ, तर यो कुनै ऐतिहासिक किल्ला हो भन्नेमा हामी विश्वस्त छौं,’ शर्माले भने, ‘थन्थापमाई नजिकै रहेको तोपको भग्नावशेषले पनि यो महत्वको क्षेत्र भएको पुष्टि गर्छ ।’ 

हाल बिहाडथलादेखि हाँडीकोट पुग्न बनाइएको पदमार्गलाई तल्लो खण्डमा पनि विस्तार गर्ने नगरको योजना छ । हरेक वर्ष बजेट राखेर खण्डखण्डमा पदमार्ग बनाइरहेको सापकोटाले बताए । यो पदमार्गलाई कालीगण्डकी नदीसम्मै लगेर जोड्ने गुरुयोजनामा उल्लेख छ । कालीगण्डकी करिडोरमा सवारीसाधन छाडेर तीन घण्टाको उकालो चढेपछि हाँडीकोट पुग्न सकिने गरी पदमार्गको अवधारणा ल्याइएको हो । 

जैदीको बेगलबगर, धुल्लु, बिहाडथला हुँदै हाँडीकोट पुग्ने पदमार्ग बनेमा जिल्लाकै लामो सिँढी मार्ग बन्ने स्थानीयले बताए । यसको लम्बाइ चार किमिभन्दा लामो हुने स्थानीयको भनाइ छ । 

वडा नं १० को राङखानीबाट सवारी चढेर पुग्न सकिने भए पनि पदमार्ग बनेमा वडा नं ६, ७ र ८ बाट सहज हुनेछ । हाँडीकोटकै प्रवर्द्धनका लागि वडा नं १० को नाम्दुक बजारमा होटल बन्न थालेका छन् । बिहाडथलामा पनि खाजा खाना खुवाउने साना होटल छन् ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully