गोरखा दरबारमा रोट महोत्सव शुरु

महोत्सव अवधीभर गोरखनाथलाई एक लाख २५ हजार रोट चढाइने

वैशाख २९, २०८२

हरिराम उप्रेती

Rot Mahotsav begins at Gorkha Palace

काठमाडौँ — गोरखा दरबार स्थित गोरखनाथ मन्दिरमा सोमबारबाट ११ दिने सवा लाख रोट महोत्सव सुरु भएको छ । सिद्धाश्रम शक्ति केन्द्रको आयोजनामा २२ औं रोट महोत्सव सुरु भएको हो ।

सिद्धाश्रम शक्ति केन्द्रका प्रमुख रामजी अर्यालले महोत्सव अवधीभर गोरखनाथलाई एक लाख २५ हजार रोट चढाइने बताए । महोत्सवको पहिलो दिन सोमबार झण्डोत्तोलन, ज्योतीपुजन, गोरखनाथको विशेष पुजा, हवन लगायतका कार्यक्रम भयो । गोरखा वसपार्कबाट गोरखा दरवार सम्म झाँकी सहितको शोभायात्रा निकालियो ।

केन्द्रले २०६१ साल देखि सवालाख रोट महोत्सवको आयोजना गर्दै आएको छ ।  गौ, जौ वा चामलको पिठोबाट तयार गरिएको ताइ र भुग्रें गरी दुइ थरी रोट गोरखनाथमा चढाउने गरिन्छ । हरेक मौसममा नयाँ अन्नवाली भित्रयाएपछि नयाँ अन्नको पिठोलाई घिउमा पकाएर रोट बनाई गोरखनाथलाई अर्पण गरेर मात्र खाने धार्मिक विश्वास यहाँका केही स्थानीयमा छ । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully