गोरखा — ७५ वर्षीय खमबहादुर राना घाटु नाच भनेपछि हुरुक्कै हुन्छन् । वैशाख पूर्णिमाको दिन सोमबार युवापुस्तालई जगाउँदै गोरखा नगरपालिका–१० विरेन्चोकमा घाटु नाच्न उनी व्यस्त थिए ।
घाटु नाच हेर्न पाका पुस्तादेखि युवापुस्तासम्मको विरिन्चोकमा भीड लागेको थियो । उमेरले ६० नाघेका पाका पुस्ता घाटु नाचका लागि गीत गाउन तल्लीन थिए । तीन जना कन्येलाई सिंगारेर घाटु नाचका लागि तयार गरिएको थियो ।
‘१४ वर्षको उमेरदेखि घाटुको गीत गाउन थालेको हुँ, अहिले ७५ लागेँ, यहाँका युवालाई पनि अहिले घाटु नाच्ने तरिका सिकाउँदै छु,’ उनले भने । घाटु नाच्दा इष्टदेवी, हिउँचुली, बरचुली, देउचुली, गङ्गाचुलीलगायतले पुकार्ने गरिन्छ । घाटु नाच तत्कालीन बाइसे-चौबीसे राज्य हुँदादेखि नै सुरु भएको खमबहादुर बताउँछन् । ‘त्यो बेलामा भएको राजारानीको जीवनीमा आधारित भएर गीत गाउँछौँ,’ उनले भने,‘गीतमा विभिन्न सामाजिक विषयवस्तुका कथा हुन्छन् ।’
घाटु गीत गाउनेलाई गुरुबा–गुरुआमा भन्ने प्रचालन छ । खमबहादुर घाटु गीत गाउने गुरुवा हुन् । विरेन्चोकमा घाटु नाच्ने परम्परा वर्षौंदेखिको रहेको स्थानीय गिरीजा आलेले बताए । वर्षौंअघिको परम्परालाई यो वर्ष पनि निरन्तरता दिएको उनले बताए । ‘आजदेखि सुरु भएको घाटु पञ्चमीको दिनमा धुर्छौं(समापन),’ उनले भने,‘घाटु नाच्दा देवी देवताको स्थापना भयो, सकिएको दिनमा आ-आफ्नो ठाउँमा जानुस् भनेर बिदाइ गरिन्छ ।’ घाटु नाचमा विभिन्न कथामा आधारित भएर गीत प्रस्तुत गरिने उनले बताए । घाटु नाचमा वाद्यवादनको पनि प्रयोग हुँदैन ।
ऐतिहासिक घटनाक्रमसँग जोडिएको घाटु नृत्य जिल्लाको ठाउँअनुसार फरक/फरक पाइन्छ । घाटु नाचको सुरुवात मङ्गल चरणबाट हुने स्थानीय बताउँछन् । सदियौंदेखि पुरानो सांस्कृतिक नाच भएकाले संस्कृति र रितिरिवाज भावी पुस्तालाई हस्तान्तरणको पनि जरुरत रहेको यहाँका स्थानीयले बताए ।
