कास्की — अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गबाट २ सय ९० किलो प्लास्टिकजन्य फोहोर संकलन गरिएको छ । नेपाली सेनाको श्री कृष्णदल गण र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को संयुक्त आयोजनामा पर्यावरण संरक्षणको उद्देश्यअनुसार ५ दिनमा उक्त फोहोर संकलन गरिएको हो ।
वैशाख २१ देखि २५ सम्म कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा पर्ने पदमार्गबाट फोहोर संकलन गरिएको हो ।
पदमार्गअन्तर्गत पर्ने झिनु, छोम्रोङ, तल्लो छोम्रोङ, सिनुवा, बम्बोसम्म सफाइ टोली पुगेको थियो । सेना र एक्यापसँगै पदमार्गका होटल व्यवसायी, आमा समूह र अन्य स्थानीय सरसफाइ अभियानमा जुटेका थिए । नेपाली सेनाले एक्याप छोम्रोङलाई संकलित फोहोर व्यवस्थापनका लागि हस्तान्तरण गरेको छ ।
पदमार्गलाई स्वच्छ र आकर्षित बनाउन सफाइ गरिएको अभियानको नेतृत्व गरेका श्री कृष्णदल गणका गणपति प्रमुख सेनानी राजेन्द्र पुडासैनीले बताए ।
