उत्तरी गोरखामा १३ सय क्वीन्टल चामलको कोटा थप्न सिफारिस

वैशाख २५, २०८२

हरिराम उप्रेती

Recommendation to add 1300 quintal rice quota in North Gorkha

गोरखा — बर्खालाई लक्षित गरी उत्तरी गोरखाको चुम्लिङ र नामरुङ बिक्री केन्द्रमा १३ सय क्वीन्टल चामलको कोटा थप गर्न सिफारिस गरिएको छ ।

बर्खाको बेला खाद्य सुनिश्चितता कायमका लागि सोमबार बसेको जिल्ला खाद्य व्यवस्था समितिको बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रीय कार्यालयसँग थप कोटा उपलब्ध गराउन माग गर्दै सिफारिस गरेको हो । 

चुम्लिङ र नामरुङ बिक्री केन्द्रमा चालु आर्थिक वर्ष छुट्टिएको कोटा अनुसारको चामल ढुवानी भइसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड गोरखा शाखाकी प्रमुख रञ्जना केसीले बताइन् । चालु वर्ष ७ सय ५० क्वीन्टलका दरले दुई बिक्री केन्द्रमा कोटा स्वीकृत भएको थियो । 

‘अर्को वर्षको चामल ढुवानी हुँदा ढिला हुन्छ, ठेक्का प्रक्रिया गरेर सम्झौता हुँदा भदौ, असोज पुग्न सक्छ,’ उनले भनिन्,‘बर्खालाई स्टक पनि गर्न खोजका हौं, पर्यटकीय क्षेत्र पनि भएकाले थप चामलको आवश्यकता पर्छ । गाउँपालिकाको पनि मागको आधारमा थप कोटाका लागि सिफारिस गरेका हौं ।’

चुमनुव्री गाउँपालिकाले वैशाख १५ गते कार्यपालिका बैठकबाट निर्णय गराएर बैशाख १६ गते कम्पनीको गोरखा शाखालाई कोटा थपको लागि पत्राचार गरेको थियो । यातायात पहुँच नपुगेको क्षेत्र भएकाले भौगोलिक जटिलतालाई मध्यनजर गर्दै कोटा थप गर्न गाउँपालिकाले माग गरेको छ । 

यो वर्षको लागि प्राप्त भएको चामलको माग पनि उच्च रहेको पत्रमा उल्लेख छ । गाउँपालिकाले आयोडिनयुक्त नुनसमेत चामल जस्तै सम्बन्धित बिक्री केन्द्रसम्म ढुवानी गरी पुर्‍याउने व्यवस्था मिलाउन माग गरेको छ । बर्खाको बेला बाटो अवरुद्ध हुन सक्ने र खाद्य संकटको जोखिम रहन सक्ने भन्दै थप कोटा चामल ढुवानीको माग भएको छ ।

चुमनुव्री–१ सामागाउँ, वडा नम्बर २ ल्हो, वडा नम्बर ४ प्रोक र वडा नम्बर ५ बिहीका लागि स्थापना भएको वडा नम्बर ४ नामरुङको बिक्री केन्द्रमा एक हजार क्वीन्टल चामलको कोटा थप गर्न सिफारिस गरिएको छ । वडा नम्बर ६ को चुम्चेत र वडा नम्बर ७ को छेकम्पारका लागि स्थापना भएको वडा नम्बर ६ चुम्लीङको बिक्री केन्द्रका लागि ३ सय क्वीन्टल चामलको कोटा थपको लागि सिफारिस भएको कम्पनी शाखा कार्यालय गोरखाकी प्रमुख केसीले बताइन् । 

कम्पनीको चुमनुब्री–३ सिर्दिवासस्थित फिलिममा रहेको खाद्य डिपोमा भने चालु आर्थिक वर्ष गोरखा शाखाबाट चार सय २५ क्वीन्टल चामल ढुवानी भएको छ । गोरखा शाखाको गोदामबाट एक हजार र तनहुँको विमलनगरमा रहेको गोदामबाट एक हजार क्वीन्टल चामल ढुवानी गर्ने गरी चालु वर्ष फिलिम डिपोका लागि कोटा स्वीकृत भएको छ । 

‘सिर्दिवास डिपोमा कोटा अनुसारको चामल ढुवानी अहिले पनि जारी छ,’ उनले भनिन् । धान खेती हुने विकटको उत्तरी गोरखामा खाद्य कार्यालयले ढुवानी अनुदानमा चामल बिक्री गर्दै आएको छ । 

त्यस्तै सोमबारको जिल्ला खाद्य व्यवस्था समितिको वैठकले साविकको नेपाल खाद्य संस्थानको पालामा बनेको गोदाम घर पुनर्निर्माणको लागि पनि माग गरेको  छ । गोरखा नगरपालिका–६ पाटेचौरमा रहेको गोदाम घरलाई २०७२ वैशाख १२ को भूकम्पले पनि क्षति पुर्‍याएको र जीर्ण बनेको केसीले बताइन् । 

‘पुरानो गोदाम घर खाद्य भण्डारणका लागि पनि असुरक्षित भएकाले नयाँ गोदामघर निर्माणका लागि तालुक निकायमा सिफारिस गर्ने बैठकले निर्णय गरेको छ,’ उनले भनिन् । खाद्यको गोदाम घर २०३१ सालमा स्थापना भएको थियो ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully