स्रोत नखुलेको ३५ लाख र लागूऔषधसहित पक्राउ 

वैशाख २५, २०८२

नवीन पौडेल

35 lakh undisclosed source and arrested with drugs

परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-६ पोखरापालीबाट प्रहरीले ३५ लाख नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्युरो, भैरहवा र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले ५२ वर्षीय प्रेमनाथ बनियाँलाई पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा बानियाँ बसोबास गर्दै आएको कोठामा खानतलासी गर्दा लागूऔषध र नगद बरामद भएको हो ।

 जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण थापाका अनुसार बानियाँको साथबाट डाइजापान २४ एम्पुल , फेनेग्रान २२ एम्पुल, ओरेक्स सिरप र ९ थान मोबाइल र नगद ३५ लाख ९९ हजार नगद बरामद गरेको हो । बानियाँको  शरीर तलासी गर्दा सेतो हिरोइनजस्तो देखिने करिब ४ सय ९७ ग्राम धूलो पदार्थसमेत फेला परेको प्रहरीले जनाएको छ ।

वैशाख २४ गते साँझ पक्राउ परेका बानियाँलाई आज जिल्ला अदालत परासीबाट ७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully