लोपको संघारमा रेशम किरा खेती : कृषक आकर्षित नहुँदा प्रदर्शनीमै सीमित

वैशाख २४, २०८२

सम्झना रसाइली

Silkworm cultivation on the verge of extinction: limited to exhibitions due to lack of farmers' attraction

तनहुँ — विश्वबजारमा रेशमको धागोबाट उत्पादित कपडाको मूल्य र माग उच्च रहे पनि नेपालमा भने रेशम किराको खेती हुँदैन । तनहुँमा रेशम किराको खेती प्रदर्शनीमा मात्र सीमित बनेको छ । 

सेतो सुनको उपमा पाएको रेशम किरा खेतीमा कृषकको आकर्षण नदेखिएको व्यवसायिक कीट विकास केन्द्र, बन्दीपुरका निमित्त प्रमुख भवनाथ देवकोटा बताउँछन् । वि.सं २०७९ सम्ममा गण्डकी प्रदेशका केही स्थानमा रेशम किराको व्यवसायिक खेती हुन्थ्यो । तर त्यसयता कृषकले छाडे । कार्यालयले बीउ संरक्षणका लागि आफैंले खेती गर्दै आएको छ । 

वातावरणीय संवेदनशीलता, संरचनागत तयारीको कमी र स्थानीय बजार अभावले गर्दा किसानहरू यो खेतीप्रति आकर्षित हुन नसकेको देवकोटाको भनाइ छ । ‘रेशम किराको खेती अन्य बालीहरूको तुलनामा निकै संवेदनशील हुन्छ । वातावरण, प्रदूषण र तापक्रमको सानो परिवर्तनलेसमेत असर पार्ने भएकाले यसका लागि विशेष संरचना आवश्यक हुन्छ’, उनले भने, ‘तर यस्ता पूर्वाधार निर्माण हुन नसक्दा किसानहरू रेशम किराको खेतीबाट पछि हट्न थालेका हुन् ।’

Silkworm cultivation on the verge of extinction: limited to exhibitions due to lack of farmers' attraction

आर्थिक वर्ष २०७९/८० देखि गण्डकी प्रदेशका कृषकहरुले रेशम किराको खेती छाडेको उनले बताए । ‘रेशम किरा खेती निकै संवेदनशील खेती हो । यो खेतीका लागि आवश्यक पर्ने किम्बू घाँस पाखो वा खरबारी जस्ता जग्गामा लगाउनुपर्ने थियो’, उनले भने, ‘खेती गर्दै आएको खेतबारीमै कृषकलाई किम्बु घाँस खेती गर्न प्रेरित गरियो जुन गलत थियो । यसो गर्दा अरु खाद्यान्न उत्पादन घट्यो । र रेशम किरा खेती पनि सहज भएन । जसले गर्दा कृषहरु रेशम किरा खेती छाडेर पुरानै खेतीतर्फ फर्किए ।’

तरकारी, धान, फलफूल उत्पादन र बिक्रीसँग तुलना गर्दा रेशम किराको खेतीको बजारीकरण र आम्दानीमा समस्या देखिएपछि कृषकहरुले किम्बूको बोटविरुवा काटेर पुनः तरकारी, फलफूल तथा धान लगाउन थाले । ‘२०७९ साल अघिसम्म रेशम किराको खेती गर्ने कृषकहरु फाट्टफुट्ट भेटिन्थे’, उनले भने, ‘अहिले यही कीट विकास केन्द्रमा मात्रै खेती हुन्छ । तर यो पनि प्रदर्शनीमै सीमित बनेको छ ।’

Silkworm cultivation on the verge of extinction: limited to exhibitions due to lack of farmers' attraction

बन्दीपुर घुम्न आउने विदेशी पर्यटकहरु, विभिन्न विद्यालयका विद्यार्थीहरु, आन्तरिक पर्यटकहरु रेशम किराको खेती हेर्न आउने गरेको उनले बताए । उनका अनुसार रेशम विकास केन्द्र, खोपासी काभ्रेपलाञ्चोकबाट अण्डा ल्याउने गरिन्छ । उक्त अण्डालाई २७/२८ डिग्री सेल्सियाससम्मको तापक्रममा राखेर सानो किरा निकाल्ने उनले बताए ।

‘ती किरालाई खानाको लागि किम्बूको पात दिने हो । अण्डाबाट किरा निस्किएको दुई/तीन दिनको अन्तरमा तेस्रो र चौथो चरण पार हुन्छ । पाचौं चरण पार गर्न ९ देखि १० दिन लाग्छ,’ उनले भने, ‘पाचौं चरणमा पुगेपछि किराले र्‍याल निकालेर कोकुन बनाउँछ र त्यही कोकुनबाट रेशमको धागो निकाल्ने हो ।’

एउटा राम्रो कोकुनबाट करिब ८ सय मिटर लामो रेशम धागो निस्कने उनले बताए । खोपासीमा कोकुन काटेर २ वटा माउ ( सि १२ र जे १२) निकालेर मेटिङ गरी अरु अण्डा उत्पादन हुन्छ । मेटिङपछि उत्पादित अण्डा दाङ, इटहरी, विराटनगर लगायतका क्षेत्रका व्यवसायिक किसानलाई वितरण गर्ने गरिएको छ । उनले भने, ‘हाम्रो यस केन्द्रले वार्षिक रूपमा बीउ संरक्षण गर्ने बाहेक अन्य उत्पादन गर्न सकेको छैन ।’

Silkworm cultivation on the verge of extinction: limited to exhibitions due to lack of farmers' attraction

केन्द्रले अहिले एक लाख २० हजार वटा अण्डा ल्याएर खेती गरिरहेको र यसबाट करिव ९० किलोसम्म कोकुन उत्पादन हुने जनाएको छ । वर्षमा दुई सिजन रेशम किरा खेतीका लागि उपयुक्त वातावरण रहे पनि आवश्यक भौतिक पूर्वाधार तथा वातावरणलाई अनुकूल बनाउन सकिएमा ४ सिजनसम्म उत्पादन लिन सकिने उनले बताए ।

७ हेक्टर क्षेत्रफलमा फैलिएको बन्दीपुरस्थित व्यवसायिक कीट विकास केन्द्रमा रेशम किरासँगै च्याउ खेती र मौरी पालन पनि हुँदै आएको छ । प्रदेश सरकार मातहत रहेको यस कार्यालयले प्रदेशका ११ जिल्लामा सेवा दिँदै आएको छ । व्यवसायिक रुपमा च्याउ र मौरी पालन गर्ने कृषकहरुलाई बीउ उपलब्ध गराउँदै आएको कार्यालयले जनाएको छ । 

१० जनाको दरबन्दी रहे पनि ९ जना मात्रै उपलब्ध रहेको उनले बताए । ‘उपलब्ध जनशक्तिको भरमा सबै जिल्लामा सेवा दिन समस्या नै छ’, निमित्त प्रमुख देवकोटाले भने, ‘आगामी वर्षबाट तनहुँ जिल्लामात्रै सेवा क्षेत्र कायम गरी यहाँको माग र आवश्यकता अनुसार खेती गर्ने र यस व्यवसायिक कीट विकास केन्द्रलाई प्रदर्शनीका रुपमा अगाडि बढाउने योजना छ । अध्ययन अवलोकन लागि आउनेहरुबाट केही शुल्क लिएर राजश्व वृद्धि गर्ने योजनामा केन्द्र रहेको छ ।’

सम्झना रसाइली रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully