मलेसियाबाट फर्केर माओवादीको 'होलटाइमर' कार्यकर्ता भएका ऋषिराम यतिबेला प्राविधिक ज्ञानसहितको पूर्णकालीन किसान बनेका छन्
पर्वत — विहादी गाउँपालिका–४ वहाकीठाँटीका ४६ वर्षीय ऋषिराम भुसालले जीवनमा के मात्रै गरेनन् । जनयुद्धमा होमिएनन् कि भारतमा मजदुरी गर्न गएनन् । मलेसियामा कमाउन गएनन् कि शान्ति प्रक्रियापछि राजनीतिमा लागेनन् । यिनै ऋषिराम २०६८ यता भने सक्रिय राजनीति छाडेर कृषि कर्ममा लागेका छन् । आफ्नै १५ रोपनी जमिनमा २१ वटा प्लास्टिकको टनेलभित्र तरकारी फलाइरहेका ऋषिराम यसमै भविष्य देखिरहेका छन् ।
केही समयअघिसम्म उनलाई देख्नेहरु 'लौ नेता आयो अब के गफ लाउने भो' भन्थे । अहिले तिनै उनका कुरा ध्यान दिएर सुन्ने भएका छन् । किनकि ऋषिराम कर्ममा लाग्दालाग्दै प्राविधिक ज्ञान सहितको पूर्णकालीन किसान बनेका छन् ।
डेढ दशक लामो कृषि कर्मको बाटोमा आइपुग्नुअघि ऋषिरामले अनेकन घुम्ती र मोड छिचोलेका छन् । २०५२ सालमा माओवादीले जनयुद्ध नाम दिएर सशस्त्र युद्ध सुरु गर्दा उनी १६ वर्षका थिए । उनी पूर्णकालीन लडाकु त भएनन् तर भूमिगत माओवादीलाई सेल्टर खोज्ने, बाटो देखाउने, सुराकी गर्ने लगायतका काम भने गुपचुप रुपमा गरी नै रहे ।
सशस्त्र युद्ध चरमोत्कर्षमा पुग्दै गर्दा उनी कामको खोजीमा भारत पसे । २०५४ सालपछिका दुई वर्ष भारतमा मजदुरी गरेर फर्केपछि पनि उनी स्वदेशमा अडिएनन् । ‘म फेरि २०५७ मा मलेसिया गएँ, फर्केर २०६० मा नेपाल आएपछि माओवादीमा पूर्णकालीन भएर काम गरेँ,’ यतिबेला होलटाइमर कृषिकर्ममा लागिपरेका ऋषिराम भन्छन्, ‘माओवादी पार्टी छाडिसकेको चाहिँ होइन । तर राजनीतिलाई उत्पादनसँग जोड्नुपर्छ भन्ने मेरो मान्यता हो ।’
२०६४ को पहिलो संविधानसभा चुनावमा पर्वत २ बाट निर्वाचित संविधानसभा सदस्य गुणाखर बस्यालको उनी चार वर्ष स्वकीय सचिव बने । २०६८ मा संविधानसभा विघटन भएपछि उनी काठमाडौंबाट आफ्नै गाउँ फर्किए । त्यसपछि उनको मन सक्रिय राजनीतितिर तानिएन । गाउँमै केही गर्छु भन्ने हुटहुटीले कृषि कर्म सुरु गरे ।
२०६८ सालमा उनले प्रगतिशील कृषि फर्म दर्ता गरेर सुरु गरे । ‘बुवाले ४ रोपनी जमिनमा लगाउनुभएको मकैले जुँगा हालिसकेका थिए । मैले मकै फालेर तीनवटा बाँसका टनेलमा गोलभेँडा लगाएँ,’ त्यो बेला बुवाले गाली गरेको सम्झँदै भने, ‘गाउँलेले डहरमा फल्ने गोलभेँडा माओवादीले प्लास्टिकमा फलाउँछु भन्छ, पागल भएछ पनि भने ।’ त्यसो भन्नु स्वाभाविक नै थियो, किनकि स्थानीयले टनेल खेतीबारे धेरै जानेबुझेका थिएनन् ।
टनेलमा रोपेका टमाटर फलेर राताम्मे भएपछि केहीले सुनाए- गाउँमा बजार छैन, टमाटर कसले किन्छ ? बुवाले लगाएको मकैबारी फाँडेर टमाटर उत्पादनमा हाम्फालेका ऋषिरामलाई त्यतिबेला चिन्ता पर्यो । उनले सुनाए, ‘तीन वर्षसम्म बुवा, आमा, श्रीमती र मैले डोकोमा टमाटर बोकेर भञ्ज्याङ, पोखराचौर र लौके बजारका घरघर डुलाउँदै बेच्यौं ।’
२०७१ सालमा उनले भुसालचोकमा भाडाको जमिन लिए । सानो छाप्रो बनाए । अनि टनेलमा उत्पादित तरकारी बेच्न थाले । बिस्तारै उनी कृषि कर्ममा अभ्यस्त बन्दै गए । नयाँनयाँ प्रयोग गर्ने, बजार विस्तारका उपाय खोज्ने काममा ऋषिराम भुल्दै गए ।
२०७१ सालमा ऋषिरामले कृषि विकास बैंकबाट ३ प्रतिशत ब्याजमा ८ लाख रुपैयाँ ऋण लिए । अनि बाँस विस्थापन गरी फलामको टनेल बनाए । अहिले उनले टनेलभित्र मुख्य बाली टमाटरसहित काउली, बन्दा, काँक्रा, क्याप्सिकम, करेला, लौका र घिरौंलाको खेती गरिरहेका छन् । उनले सुनाए, ‘बेमौसमी तरकारीबाट नाफा पनि धेरै हुने, बेच्न पनि सजिलो हुने ।’
तरकारी खेतीसँगै उनले नयाँनयाँ कृषि सीप मात्रै सिकेका छैनन्, अर्थोपार्जनका राम्रो बाटो पनि बनाइरहेका छन् । एउटा टनेलबाट ७ सय केजी टमाटर फलाउने गरेको सुनाउँदै उनले भने, ‘तरकारी खेतीबाट वार्षिक ५/६ लाख रुपैयाँ आम्दानी भइरहेछ ।’
कृषि कर्म भनेको निरन्तरता मात्रै नभएर नयाँनयाँ प्राविधिक सीप पनि सिक्ने जाने पेसा हो भन्ने उनको बुझाइ छ । २०७१ सालमा उनले एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) बारे अध्ययन गर्ने र व्यावहारमा उतार्ने सीप सिके । अहिले उनी गण्डकी प्रदेश सरकार र विहादी गाउँपालिकाबाट प्राप्त ६ वटा आईपीएम पाठशालाका सहजकर्ता हुन् । उनी किसानलाई रासायनिक विषादी र मलको विकल्पमा प्रांगारिक विधिबाट खेती गर्ने तौरतरिका सिकाउँछन् ।
कहिले किसानका खेतबारी त कहिले जिल्लाको कृषि ज्ञान केन्द्रदेखि गण्डकी प्रदेश सरकारको मन्त्रालयसम्म पुगेर किसानका हकहितमा बोल्ने ऋषिराम आफूलाई घुमन्ते उत्प्रेरक भन्न रुचाउँछन् । दिगो कृषिमा ग्रामीण किसानहरुलाई कसरी संग्लन गराउने र कसरी उनीहरुको उत्पादनलाई बजारसँग जोडने भन्ने उनको मुख्य चिन्ता र चासो छ ।
आफूले जानेको सीप सिकाउँदै किसानका घर घरमा पुग्ने ऋषिराम स्थानीय तहमा कोल्ड स्टोर बनाउन सके कृषि उत्पादनबाट किसानलाई धेरै फाइदा दिलाउन सकिने बुझाइ राख्छन् । उनले विहादी गाउँपालिकाका निम्ति ५ सय टनको कोल्डस्टोर बनाउन सके सिंगो गाउँलेलाई कृषि उत्पादनमा जोडन सकिने बताए । उनले आफ्नो अनुभवी स्वरमा भने, ‘चिस्यान केन्द्र मात्रै हुने हो भने स्थानीय उत्पादनको बजार मूल्य नै धेरै हुन्छ ।’
