प्रथम अन्नपूर्ण आरोही मौरिस हार्जोगले आरोहण क्रममा प्रयोग गरेका उपकरण अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा हस्तान्तरण हुने
म्याग्दी — ८ हजार मिटरमाथिका हिमालमा पहिलोपटक मानव पाइला परेको अन्नपूर्ण प्रथम (८०९१ मि) आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा ‘अन्नपूर्ण हिरक महोत्सव’ मनाइने भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा जेठ १६–२२ सम्म महोत्सव गरिन लागेको हो । अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको आयोजनामा महोत्सव हुनेछ ।
सन् १९५० जुन ३ मा फान्सेली पर्वतारोही मौरिस हार्जोग नेतृत्वमा लुइस लचेन र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । उनीहरु म्याग्दीको दाना हुँदै मुस्ताङको घाँसाबाट पूर्व निलगिरी साउथ हिमालको फेदीबाट म्याग्दीको नारच्याङ गाउँको सिरानमा पर्ने हुमखोला, भुस्केटमेलाको परम्परागत भेडा गोठालो मार्ग पछ्याउँदै अन्नपूर्ण प्रथम हिमाल पुगेका थिए । अन्नपूर्ण प्रथम हिमालको पश्चिमोत्तर मोहडाबाट मात्र ७५ वर्षदेखि अन्नपूर्ण हिमाल प्रथम हिमाल आरोहण हुँदै आएको छ ।
हिरक जयन्तीको असवरमा अन्नपूर्ण प्रथम हिमालको उत्तरी मोहडामा रहेको बेस क्याम्पमा पहिलो आरोही मौरिस हार्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने कार्यक्रम छ । अनावरणसँगै प्रथम अन्नपूर्ण आरोही मौरिस हार्जोगको परिवारले उनले अन्नपूर्ण हिमाल आरोहण गर्दा प्रयोग गरेका उपकरण अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा रहनेगरी हस्तान्तरण गर्दै छ ।
त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङदेखी बेसक्यााम्पसम्म पदयात्रा, मौरिस हर्जोगको सम्मानमा ‘मौरिस हर्जोग पदमार्ग’ उद्घाटन, बेसक्याम्प–नारच्याङसम्म म्याराथन दौड र स्थानीय कलासंस्कृति प्रदर्शन गरिन लागेको ‘अन्नपूर्ण प्रथम हिरक महोत्सव’ मूल समारोहका संयोजक तथा अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताए ।
अन्नपूर्ण प्रथम हिमालको उत्तरी मोहडामा पर्ने बेसक्याम्पमा तामा र पित्तलमिश्रित ४० किलोग्राम तौल भएका अर्धकदको सालिक अनावरण गरिएका छन् । ती सालिक अन्नपूर्ण नारच्याङबासीले चन्दा उठाई बनाएको अन्नपूर्ण प्रथम हिमालको आरोहण मार्ग पहिचान र प्रवर्द्धनमा जुटेका अभियन्ता तेजबहादुर गुरुङले बताए ।
अन्नपूर्ण प्रथम हिमालको नर्थ बेस क्याम्प निलगिरी साउथको पनि साझा बेस क्याम्प हो । अन्नपूर्ण नर्थ बेस क्याम्पमा पञ्चकुण्ड हिमताल छ । सोही तालबाट बग्ने मिस्त्रीखोलामा निर्माणाधीन जलविद्युत् आयोजनाले हुमखोलासम्म मोटरबाटो पुर्याएपछि परम्परागत गोठाला बाटोको आरोहण मार्ग अहिले भने छोटो र सहज भएको छ ।
‘पर्यटन र पर्यटकको अभिलेख राख्ने पर्यटन विभागले त्रुटिपूर्ण आधारमा अन्नपूर्ण प्रथम हिमाल अन्यत्र तोकेको कारण ८ हजार मिटर अग्ला पर्वतारोहण इतिहासमा जेठो हिमाल अन्नपूर्ण प्रथम हिमाल अवस्थित स्थानीय तहले पर्वतारोहण रोयल्टीबाट वन्चित भएका छौं,’ अन्नपूर्ण गाउँपालिका अध्यक्ष एवं हिरक महोत्सव आयोजक समितिका संयोजक पुनले भने, ‘हामीले पर्यटन रोयल्टीमा दाबी मात्र गरेका हैनौं । पर्वतारोहणको इतिहास बोकेको मौरिस हर्जोग पदमार्गको पहिचान र पर्यटन विभागमा रहेको त्रुटिपूर्ण अभिलेख सच्याउन चाहेका हौं । राज्यले सही सूचना दिनुपर्छ ।’
पोखराबाट ७६ किलोमिटर गाडीमा बेनी र बेनी–जोमसोम सडकको २४ माथि नारच्याङ बेँसी (१३३० मि) पुगिन्छ । नारच्याङबाट हुमखोला दोभान (२८८३ मि) सम्म दुई घण्टामा गाडीमा जान सकिन्छ । हुमखोलासम्म त्यहाँ निर्माणाधीन निलगिरी पहिलो र दोस्रो जलविद्युत्आ योजनाले कच्ची ट्रयाक खोलेका हुन । हाइड्रोले पदमार्गमा ट्रयाक खोलेका कारण नारच्याङ–हुमखोला २२ किमिमा पदमार्ग नासिएको छ । तातोपानी वा नारच्याङमा बास बसेर बिहान गाडीमा जाँदा छोटेपा भन्ने स्थानमा सानो टी हाउस छ । यहीँ खाना खाई गाडीमा १५ मिनेट माथी हुमखोलासम्म पुग्न सकिन्छ ।
अन्नपूर्ण हिमशृंखलाका अन्नपूर्ण साउथ प्रथम, दोस्रो, तेस्रो, चौथोसहित निलगिरी साउथ, तिलिचो पिक, बराह शिखरसमेत १४ वटा हिमाल पर्छन् । अन्नपूर्ण साउथ र प्रथम चुचुरो म्याग्दीमा र दोस्रो, तेस्रो र चौथो चुचुरो भने कास्कीमा पर्छ । माछापुच्छ्रे हिमालको पूर्वमा पर्ने अन्नपूर्ण हिमालको तेस्रो र चौथो चुचुरोको फेदीलाई अन्नपूर्ण बेस क्याम्पको रुपमा बढी चर्चित छ ।
